नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी नेताहरुलाई पार्टीमै फर्काउने बताएका छन् । बुधवार पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश र जिल्लास्तरीय नेताहरुलाई माओवादीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।
एमाले केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीसहित प्रदेश र जिल्लास्तरीय नेताहरुलाई माओवादीमा स्वागत गर्दै उनले नेकपा विभाजनका बेला एमालेतिर लागेका पूर्वमाओवादी नेताहरुलाई घर फर्किन आह्वान गरे ।
प्रचण्डले एमालेबाट फर्किएर आउनेहरुलाई कुनै पनि पूर्वाग्रह नराखिने आश्वासनसमेत दिए । प्रचण्डले भने, ‘हिजो माओवादी आन्दो’लनका धेरै सिनियर साथीहरु एमालेमा हुनुहुन्छ । उहाँहरु अहिले वडा पीडा, छटपटी र बेचैनीमा बाँचिरहनुभएको होला ।
चैन केही पनि छैन होला । त्यत्रो लडा’इँमा सँगै लडेका साथीहरुले पक्कै पनि हाम्रो अभाव अनुभूत गर्नुभएको होला । ती सबै साथीरुलाई घर फर्किने वातावरण बनाउनुपर्छ ।’
यस्तै, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच तत्काल पार्टी एकता नगरेपनि घोषणापत्र एउटै बनाउने सहमति भएको छ । उनीहरुबीच चुनाव चिन्ह पनि एउटै बनाएर जाने भद्र सहमति भएको बुझिएको छ ।
नेपाली काँग्रेससँग सिट बाँडफाँटको टुंगो नलागेसम्म प्रचण्ड र माधव नेपालले पार्टी एकता वा एउटै चुनाव चिन्हको घोषणा गर्ने छैनन् ।
सिट बाँडफाँटको टुंगो लाग्नेवित्तिकै प्रचण्ड र माधव नेपालले चुनाव चिन्हमा पनि टुंगो लगाउने गरी रणनीति बनाएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार कलम चिन्हमा माओवादी र एसका उम्मेदवारहरु चुनाव लड्ने सम्भावना देखिएको छ ।
गठबन्धनमा माओवादीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५० र एसले ३० सिटको दाबी गरिरहेको छ । माओवादी ४५ र एस २५ सिटमा सहमति गरेर चुनावमा जाने रणनीतिका साथ प्रस्तुत भएका छन् ।

