आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको मिति तोकिएको छ । गत बर्ष तत्कालिन नेकपाका अध्यक्ष तथा हाल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । असार २८ गते सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
एमालेबाटै फुटेको एक समूह जुन पछि एकीकृत समाजवादीमा रुपान्तरण भयो, माओवादी र जसपा लगायत दलहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । अब समय अघि बढ्दै जाँदा सोही गठबन्धनमा आगमी चुनाव र चुनावपछिको प्रधानमन्त्री तथा उच्च पदहरुको बाँडफाँडका लागि छलफल हुन थालेको छ ।
सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आज बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँड टुंग्याउन सकेन । आज नटुंगिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने भएको छ ।
बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको बताइएको छ । सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा भोली बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने एक नेताले बताए ।
चुनावपछि प्रधानमन्त्री को बन्ने भन्नेबारे पनि पछिल्लो समय गठबन्धन र प्रतिपक्षी दल एमालेमा चाँसो छाएको छ । एमालेले केपी शर्मा ओलीलाइृ नै प्रधानमन्त्रीको रुपमा अघि सारेर चुुनावमा जाने निर्णय गरेपनि गठबन्धनमा स्पष्ट धारणा अंकुरित भएको देखिदैन ।
कतिपयले देउवा प्रधानमन्त्री भइसकेकाले प्रचण्डलाई अवसर इिने बताइरहँदा ज्योतिष वास्तुविद् सञ्जय पौड्यालले रातोपाटीमा एक लेखमार्फत नेपालको मंसिर महिनाको समय र प्रचण्डको कुण्डलीको ग्रहगोचर अध्ययनले निजमा आध्यात्मिक चिन्तन किञ्चित् बढेको खण्डमा प्रचण्डलाई अबको सफल प्रधानमन्त्रीको रुपमा नेपालले प्राप्त गर्ने बताएका छन् । अन्यथा भएमा नेपालको अबको प्रधानमन्त्री नयाँ अनुहार आउनेछ ।
प्रधानमन्त्रीमा चर्चा चलेका अन्य व्यक्तित्वहरुको विषयमा अधिक ज्योतिषीय अनुसन्धान गरेता पनि यहाँ कुनै चर्चा गर्न मनासिब लागेन । ज्योतिषीय विहंगम दृष्टिअनुसार वर्तमान समयमा नेपाली राजनीतिक पार्टीहरुले प्रधानमन्त्रीहरुमा चर्चा चलाएका चर्चित अनुहारहरुमध्ये प्रचण्डको कुण्डली सर्वाधिक प्रभावशाली देखिएको उनको दाबी छ ।
उनले भनेका छन्, ‘प्रचण्डको कुण्डलीमा २०७९ कार्तिक, मंसिरमा राज्यस्थानमा शुक्र र शनिश्चरको लाभदृष्टि परेको देखिन्छ । शुक्र र शनिश्चर दुबै राज्यलाभ गराउने ग्रह भएको कारण, दुबै ग्रहको शुभदृष्टि देखिनु र उनै ग्रहको दशाअन्तरमा आउनुले प्रचण्डमा राज्य नेतृत्वको प्रवल सम्भावना देखिन्छ ।’
यता, प्रधानमन्त्री देउवाका ज्योतिष सुुरेश रिजालले पनि देउवा ७ पटकसम्म प्रधानमन्त्री बन्ने बताएका छन् । तर, घटनाक्रमलाई केलाउदाँ र पछिल्लो समयका प्रचण्डका अभिव्यक्तिहरु हेर्दा प्रचण्डले प्रधानमन्त्री बन्ने चोहेको देखिन्छ । उनले अन्तिम पटक प्रधानमन्त्री बनेर देशको मुहार फेर्ने दाबी गरेका छन् ।

