धरान उपमहानगरका मेयर हर्क साम्पाङले निर्वचनअघिको वाचा पूरा गरेका छन् । सर्दु-निशाने खोला दोभानबाट १० इञ्च पाइप विस्तार गरेर धरानको वडा नं १३ स्थित जानकी चोकसम्म पानी ल्याउन पुुगेको हो ।
मेयर हर्क साम्पाङको दोस्रो प्राजेक्टकोरुपमा भइरहेको खानेपानी अभियान अन्तर्गत सोमबार १० इञ्च पाइपबाट पानी जानकी चोकसम्म आएको हो ।
गोर्खा पिस फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी युकेको सहयोगमा निर्माण भइरहेको खानेपानी ट्यांकी क्षेत्रबाट १० इञ्च पाइप विस्तार गरिएको छ ।
उक्त पाइप करिब २ किलोमिटर जाडन गरेर सोमबार जानकी चोकसम्म पुगेको थियो । पाइप जानकी चोकसम्म पुगेपछि मेयर साम्पाङले सबैलाई पानीमा नुहाउन आउनको लागि फेसबुकबाटै आह्वान गरेका थिए ।
पानी आउने आशामा श्रमदानमा खटिएका युवायुवती, वृद्धवृद्धाहरु पनि दिउँसो जानकी चोकमा पुगेका थिए । पाइपबाट पानी खसेपछि खुशीयाली मनाउदै सबै नुहाएका थिए ।
मेयर साम्पाङ पनि केही ढिला गरि आएका थिए, र उनले पनि पाइपबाट खसेको पानीमा रुझेर खुशी मनाए ।
मेयर साम्पाङले आफु ज्यादै खुशी भएको प्रतिक्रिया दिदै सबै श्रमदानमा खटिने र आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिएका थिए ।
यो पानीलाई धरान १० स्थित स्वास्तिका चोकमा रहेको टंकीसम्म १० इञ्च पाइपमार्फत पुर्याइनेछ । सर्दु निशाने दोभानमा २ लाख १० हजार लिटर क्षमताको ट्यांकी निर्माण भइरेको छ ।
ट्यांकी निर्माण भएपनि त्यहाँ जम्मा भएको पानी यही पाइपमार्फत स्वास्तिका चोकको ट्यांकीमा पुर्याइनेछ । उक्त ट्यांकीमा हालसम्म जंगलमा पम्प गरेर आएको पानी मात्र जम्मा हुने गरेको छ ।
त्यसैले पम्प बिग्रदा वा विजुली नहुदा खानेपानी सं’कट हुने गरेको छ । यो समस्या हल गर्नको लागि नै मेयर साम्पाङले सतह (खोला)को पानी लैजाने योजना अघि सारेका हुन् ।
पानी ल्याएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै साम्पाङले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
भिडियोसँगै उनले लेखेका छन्,’खर्दु र निशानेलाई मात्रै जोडेका छौँ यहाँ ! सर्दु जोड्न बाँकीछ ! सर्दुसँग त झन ठुलो आउनेछ फोहोरा !

