नेपाली सेनाले पुरानो निर्णय उल्ट्याएको छ । नेपाली सेनाले पृतनाकै संरचनामा फर्किएको छ। २०७८ साउनदेखि तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतना खारेज गर्दै चार कमाण्डमा चलाउने निर्णय कार्यान्वयनमा ल्याएका थिए। तर एक वर्षमै उक्त निर्णयबाट नेपाली सेना पछि हटेको हो।
यही भदौ २१ गते बसेको मन्त्रिपरिषदको बैठकले सेनालाई पुरानै संरचनामा फर्काउने निर्णय गरेको थियो। चार कमाण्डको संरचना असफल भएपछि सरकारले पृतनामै फर्काउँदै पुरानै जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
त्यही निर्णयअनुसार नेपाली सेना पृतना, बाहिनी, गण र गुल्महरूको संरचनामा फर्किने भएको छ। सैनिक मुख्यालयस्थित कार्यरथी विभागले बुधबार पुरानै संरचनामा फर्किएको भन्दै मातहतका सबै ब्यारेकलाई जानकारी गराएको हो।
पत्रमा नेपाली सेनाको परिचालन, कार्य प्रकृति र कमाण्ड कन्ट्रोल तथा नेपाल सरकारका अन्य निकायसँगको समन्वयको आवश्यकतालाई मध्यनजर गर्दै पुरानै पृतनाको संरचनामा फर्किनु परेको उल्लेख छ।
पुनस्स्थापित पृतनाहरूलाई विगतमा दिएकै जिम्मेवारीमा यथावत राखिएको छ। चारवटा कमाण्डमा जानु पहिले सेनामा देशभर ८ वटा पृतना थिए।
नेपाली सेनाको पुरानो संरचनामा पूर्वी पृतना, मध्यपूर्वी पृतना, मध्य पृतना, उपत्यका पृतना, पश्चिम पृतना, मध्यपश्चिम पृतना, उत्तर पश्चिम पृतना र सुदुरपश्चिम पृतना थिए।
एक वर्षपहिले यी सबै पृतना खारेज गर्दै पूर्वी कमाण्ड, मध्य कमाण्ड, पश्चिम कमाण्ड र उपत्यका कमाण्डमा सेनाको संरचना बनाइएको थियो।
२०७८ असार २४ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार कमाण्ड प्रणालीमा गएको सेनालाई प्रधानसेनापति प्रभुराम शर्माले पुरानै संरचनामा फर्काएका हुन्।
यो पनि पढ्नुुहोस्ः ‘अग्निपथ’ मा नेपाली भर्ती नभए कोटा अरुलाई !
भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले ‘अग्निपथ’मा नेपालीहरु भर्ना नभए सो कोटा अरुलाई दिने बताएका छन् ।
युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको बुधबार भएको एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । भारतले केही वर्षअघिसम्म वार्षिक ४ हजारको हाराहारीमा नेपालीहरुलाई भर्ती गर्दै आएकोमा पछिल्लो समय नेपालीको कोटा घटाएर घटाएर १५ सय बनाइएको थियो ।
सेनाध्यक्ष पाण्डेले भनेका छन्, ‘आउँदो मंसिर ४ को आमनिर्वाचन अघि नेपालले कुनै निर्णय गर्छजस्तो मलाई लाग्दैन । चुनावपछि पनि उनीहरूले निर्णय गरेनन् भने नेपालीका लागि छुट्याएको कोटा अरूलाई दिन्छौँ ।’
अग्निपथमा जम्मा ४ वर्षका लागि सैनिक भर्ना गरिन्छ । साढे १७ वर्षदेखि २३ वर्ष उमेर समूहका युवा अग्निपथ योजनाअनुसार सेनामा भर्ती गर्ने गरिन्छ ।

