लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेबाट संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए ।
संसद्मा बिजनेस नभएकाले अधिवेशन अन्त्य गरेको उनले बताए । प्रदेश सभाको हिउँदे अधिवेशन १८ चैतमा सुरु भएको थियो । सोमबारसम्म जम्मा चारवटा बैठक बसेका छन् । मंगलबार दिउँसो बैठक बस्ने तय भइसकेको छ । सोमबार प्रदेश सभा बैठकमा सम्बोधन गरेर फर्केलगत्तै मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठक राखेर चालू अधिवेशन अन्त्यको निर्णय गराएका हुन् ।
पोखरेलले सोमबार नै राजपाका सांसदहरूसँग छलफल गरेका थिए । मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा कांग्रेस, माओवादी केन्द्र, राजपासहितका दलहरू छलफलमा लागेपछि संसद् अधिवेशन सुरु भएको एक सातामै अन्त्य गर्ने निर्णय गरिएको छ । लुम्बिनीमा पोखरेल नेतृत्वमा रहेको सरकार परिवर्तनका लागि माओवादी केन्द्रसहित विपक्षी दलहरूले केही दिनयता छलफल तीव्र पार्दै आएका थिए ।