आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीसँगको गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रसँग मात्रै मिल्ने घोषणा भएको छ । नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमितिले यस्तो घोषणा गरेको हो ।
नेकपा एकीकृत समाजवादी पार्टी जिल्लामा तेस्रो स्थानमा रहेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा बताइएको छ । नेपाली कांग्रेस बझाङ जिल्ला सभापति खडकबहादुर बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ-
‘जिल्ला भरिका कांग्रेसजनबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै बझाङ कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने ब्यहोरा अवगत गरिन्छ ।’
स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित केही जनप्रतिनिधिको कार्यशैली गठबन्धन वि’रोधी भएको र एकल निर्णयका साथ अगाडी बढेको गुनासो आएको पनि विज्ञप्तिमा उल्लेख छ । ‘
बझाङमा जनमतको हिसाबले नेपाली कांग्रेस अत्यधिक पहिलो स्थानमा, माओवादी दोस्रो स्थानमा र समाजवादी तेस्रो न्यून स्थानमा रहेको यथार्थ छ ।
तसर्थ बझाङ कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने ब्यहोरा अवगत गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुुहोस्ः एकीकृत समाजवादीकी प्रमुख सचेतक माओवादीमा प्रवेश
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमकी नेतृ तथा प्रमुख सचेतक दुर्गा बिक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । शुक्रबार बिक समाजवादी छाडेर माओवादीतिर लागेकी हुन् ।
यस्तै उनीसहित थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं(कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, बिक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायतले पनि माओवादीमा प्रवेश गरेका छन्।
उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए । प्रमुख सचेतक बिक एमाले विभाजनपछि समाजवादीमा लागेकी थिइन् । तर, उनी समाजवादी पनि छाडेर माओवादीमा लागेपछि पार्टीमा तरंग फैलिएको छ ।

