नेपाली कांग्रेसमा समूहगत समानुपातिक उम्मेदवारको बन्दसूची बनेको छ । पार्टीबाट हिजो निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको दुईवटा बन्दसूची बुझाइएको छ ।
सोमबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बन्दसूची बुझाएपनि राति शेखर कोइराला समूहले राति अर्को बन्दसूची बुझाएको हो । दुईवटा बन्दसूची बुझाएको खुलेपछि कांग्रेसका शिर्ष नेताहरू झस्किएका छन् ।
सम्मानजनक सिट नपाएको भन्दै शेखर समूहले आयोगमै पुगेर समानुपातिकको बन्दसूची बुझाएलगत्तै थप अन्योल सिर्जना भएको हो ।
कांग्रेस नेताहरूले भने यसबारे बैठक बोलाएर छलफल गर्ने तयारी भएको बताए । कांग्रेस र आयोगले भने यसबारे बोल्न चाहेको छैन । आधिकारिक हस्ताक्षर नभई निर्वाचन आयोगले दर्ता गर्न नमिल्ने भएकाले शेखर समूहले बुझाएको सूची मान्य नहुुने बुुझिएको छ ।
कांग्रेसमा भने यो विषयले उ’ग्र रूप लिने देखिएको छ । नेताहरूले जोडतोडले यसमा छलफल गर्ने तयारी गरिरहेको बुझिएको छ ।
यसबारे पार्टी प्रवक्ता प्रकाशशरण महतसँग जिज्ञासा राख्ने प्रयास गरे पनि सम्पर्क हुन सकेन । महामन्त्री शर्माले भने दुईवटा सूची बुझाएको कुरा हल्ला मात्रै भएको बताए । ‘त्यस्तो हैन, यो हल्ला मात्रै हो’, उनले भने ।
यता, संस्थापनबाटै केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ ।
कांग्रेसले सोमबार निर्वाचन आयोगलाई बुझाएको प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा आरजुको नाम सिफारिस गरिएको हो।
आरजु कैलाली ५, कञ्चनपुर, बर्दिया, बाग्लुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस भएकी थिइन् । तर, कांग्रेसले अन्तिम समयमा आएर उनको नाम समानुपातिकमा समावेश गरेको छ ।
कैलाली ५ मा असन्तुष्ट नेता पुष्करनाथ ओझा समूहले असहयोग गर्ने भएपछि आरजुलाई समानुपातिकमा राख्न कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका हुन् । आरजुको स्वा’स्थ्यका कारण पनि उनलाई समानुपातिकमा राखिएको अनुमान गरिएको छ ।
कांग्रेसले नेता विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, जीवन परियारलगायतलाई समानुपातिकमा राखेको छ ।
स्रोतका अनुसार संस्थापन पक्षले आफू निकट धेरै नेतालाई समानुपातिकमा राख्ने र प्रत्यक्षतर्फ इतर समूहका नेतालाई टिकट दिने तयारी गरेको बताइएको छ ।

