नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विकल्पको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीभित्र अघि सार्ने तयारी भइरहेको छ । पछिल्लो समय भण्डारीप्रति सदासयता राख्ने नेता-कार्यकर्ताको संख्या बढेको छ ।
नेपालकै प्रथम महिला राष्ट्रपति बनेर इतिहासमा नाम लेखाएकी भण्डारीले पछिल्लो समय आएका प्रचाहरु गलत रहेको बताएपनि भित्रभित्रै यस्तो योजना बनिरहेको स्रोत बताउँछ ।
उनले एमालेको महाधिवेशनमा अस्वभाविक चासो राखेको पनि दाबी गरिएको थियो । कतिपय नेताहरूले त अहिले पनि एमाले राष्ट्रपति कार्यलयबाट चलेको बताउँछन् । महाधिवेशनदेखि नै भण्डारीले राष्ट्रपतिको कार्यकाल सकिएपछि एमालेमा स्थापित हुने आधार तयार गरिसकेको बताइन्छ ।
भण्डारीले आफ्नो कार्यकाल सकिएपछि पार्टीको नेतृत्व गर्नेगरी तयारी गरेको एमालेभित्रै चलेको बहसले पनि देखाउँछ । उनको कार्यकाल सकिनै लाग्दा एमालेका नेताहरूले यसबारे बोल्न थालेका छन् । कतिपय नेताहरूले आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् ।
अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै आफू अध्यक्ष बन्ने र राष्ट्रपतिको कार्यकाल सकिएपछि पद भण्डारीलाई हस्तान्तरण गर्ने भन्ने ह’ल्ला पनि नचलेको होइन । यता उनको कार्यकाल सकिनै लाग्दा राजनितिक वृत्तमा देखिएका कतिपय घटनाक्रमले पनि यो ह’ल्लामाथि बल पुर्याएको देखिन्छ ।
नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले खेलेको भुमिका पनि यसै विषयसँग सम्बन्धित भएको कतिपयको आंकलन छ । त्यतिमात्र होइन राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भएको भद्र सहमति अनुसार ओलीलाई भाबी प्रधानमन्त्रीको लागि तयार गरेर भण्डारीले पार्टीको नेतृत्व गर्ने सम्मको चर्चा छ ।
यहीँ बिषयमा पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले आज अभिव्यक्ति दिँदै भण्डारीलाई नेतृत्व गर्न एमालेमा तयारी भइरहेको सन्देश दिएका छन् ।

