पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन सिट बाँडफाँटबारे नयाँ कुुरा खोलेका छन् । सत्तारुढ गठबन्धन सिट बाँडफाँट चूुनौतीको बिषय बनेका बेला नेपालले सहमति नजिक पुगेको बताएका छन् ।
शनिवार रौतहटमा आयोजित कार्यक्रममा सहभागि हुन पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत सत्ता गठबन्धन दलहरुबीच सहमति भइरहेको दावी गरे ।
‘सिट बाँडफाँटमा २० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ , त्यो पनि आज भोलिसम्म सहमति भइहाल्ने अवस्था छ,’ उनले भने । त्यसैगरी उनले कुनै पनि हालतमा सत्ता गठबन्धन नफूट्ने पनि दावी गरे ।
पछिल्लो समय सिटबाँडफाँटमा सहमति जुटाउन निरन्तर छलफलमा जुटे पनि सहमति जुट्न सकेको छैन् । अहिलेसम्म जति पनि गठबन्धनका बैठक बसे ती सबै निष्कर्ष विहीन सकिएका जनाइएको छ ।
यस्तै, सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार छलफल भएको हो।
सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयमा सहमति हुन नसकिरहेको अवस्थामा तीन अध्यक्षबीच छलफल भएको हो।
नेपाली कांग्रेसका नेताहरुको उपस्थितिबीना नै भएको भेटमा सिट बाँडफाँट टुंग्याउने विषयमा कुराकानी भएको बताइएको छ। गठबन्धनभित्र ठूलो दल नेपाली कांग्रेसले बढी सिट लिने अडान नछाडेपछि ‘मो’र्चाब’न्दी’ भएको हो।

