नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिका लागि यसपटक नौ जना दलित समूदायका पत्रकार चुनावमा होमिएका छन् । समावेशी दलित कोटामा सचिवसहित नौ जना पत्रकार चुनावी मैदानमा होमिएका हुन् । खुल्ला सदस्य पदमा पनि दलित समूदायका पत्रकारले उम्मेद्वारी दिएका छन् ।
सचिव दलित कोटामा मधु शाही (परियार) र हेमकर्ण विश्वकर्माको उम्मेद्वारी छ । शाही प्रेस चौतारीबाट निर्मला शर्मा नेतृत्वको प्यानलबाट उम्मेद्वार बनेकी हुन् । विश्वकर्मा भने विपुल पोखरेल नेतृत्वको प्यानलबाट उम्मेद्वार बनेका हुन् । दलित महिला सदस्यमा उम्मेद्वारी दिने शाहीले चुनाव जितेमा इतिहास रच्ने छिन् ।
यस्तै खुल्ला सदस्यमा केशब भुलले उम्मेद्वारी दिएका छन् । महासंघको केन्द्रीय कार्यसमितिका लागि दलित सदस्यमा प्रकाश धौलाकोटी र करन ताम्राकारले उम्मेद्वारी दिएका छन् । दलित महिला सदस्यमा पवित्रा सुनार र राधा नेपालीको उम्मेद्वारी छ । सुनार क्रियाशील दलित पत्रकार संघकी अध्यक्ष समेत हुन् ।
महिला सदस्यमा सरिता बराइली र रुपा गहतराजको उम्मेद्वारी छ । यसअघि मनोनयनका लागि समावेशी कोटामा दलितको संख्या पुर्याउन मुश्किल हुन्थ्यो । तर यसपटक भने दलित समूदायका पत्रकारहरुको उल्लेखनीय सहभागिता र प्रतिष्पर्धा छ ।
मूलधार र मोफसलमा दलित समूदायका पत्रकारहरुको सख्ंया बढेसँग नेतृत्वका लागि महासंघमा पनि दलित पत्रकार चुनावी मैदानमा उत्रिन थालेका हुन् । नेपाल पत्रकार महासंघले नै मिडिया हाउसलाई समावेशी बनाउन हरेक मिडियामा दलित समूदायका पत्रकार कार्यरत हुनुपर्ने पक्षमा वकालत गर्दै आएको छ ।
पछिल्लो समय दलित समूदायका पत्रकारको हक, हित र नेतृत्वका लागि राष्ट्रिय दलित पत्रकार संघ र क्रियाशील दलित पत्रकार संघ गठन भएर विभिन्न गतिविधि गरिरहेका छन् । जसले दलित समूदायका पत्रकारको उत्पादन, क्षमता अभिवृद्धि र समूदाय विकासका लागि पत्रकारिता लगायतका कामहरु गर्दै आएका छन् ।