काठमाडौँ महानगरपालिकाको पछिल्लो गतिविधितिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको नजर गएको छ । उनले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।
हनुमानढोकादेखि स्वयम्भू विश्वसम्पदा क्षेत्रको सम्पदा पदमार्ग पुनःस्थापना कार्यक्रमअन्तर्गत विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं ‘हनुमानढोका डोरवे टु नेपाल्स हिस्ट्री कल्चर’नामक पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले विकासका नाममा काठमाडौँका सांस्कृतिक संरचना भत्काउन नहुने बताएका छन्। पर्यटनमन्त्री श्रेष्ठले भने, “काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्वपूर्ण रहेको छ । बाटो साँघुरो छ भनेर सरहका पुराना घर भ’त्काइनु हुन्न । पहिलेका भौतिक संरचनाको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहन्छ, त्यसैले काठमाडौँलाई पर्यटकीय नगरी बनाउनुपर्छ ।”
उहाँले पर्यटन क्षेत्रको दिगो विकासका लागि मन्त्रालयले पर्यटन दशक घोषणा गरेको जानकारी दिँदै पर्यटनबाट देशको अर्थतन्त्रलाई बलियो बनाएर बढीभन्दा बढी रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
समाजले आधुनिकताका नाममा पुराना संस्कृतिलाई भुल्दै जान थालेकामा चिन्ता व्यक्त गर्दै मन्त्री श्रेष्ठले मन्त्रालयले पुरानै शैलीमा संरचनाको स्थापना गर्ने योजना बनाएको बताए ।
हनुमान ढोकादेखि स्वयम्भूसम्म दुई दशमलव दुई किलोमिटरको सम्पदा मार्ग निर्माण गर्न लागिएको हो । पर्यटकलाई शान्तिपूर्णरुपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदा मार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले जानकारी दिए ।
उक्त सम्पदा मार्गमा सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृ’त्युसम्मका संस्कार हेर्न सकिनेछ । पुरातत्व विभागले सम्पदा निर्माण गर्नेछ भने मन्दिर निर्माणलगायत संरचना सहरी विकास मन्त्रालयले काम अघि बढाउनेछ । पछिल्लो समय काठमाडौँ महानरका मेयर बालेन शाहले टुुकुुचा ऐतिहासिक सम्पदा भएको तर खल्बल्याउन खोजेको भन्दै आलोचना भइरहेको छ ।

