नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई देशको नेतृत्व गर्न तयार रहन भनेको खुुलेको छ । गृहजिल्ला तनहुँको दमौलीमा उद्योगी व्यवसायीसँग आयोजित अन्तक्रिर्यालाई सम्बोधन गर्दै उनले यस्तो रहस्य खोलेका हुन् ।
उनले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए। उनले भने, ‘कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ। मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस्।’
उनले कांग्रेसको १४ औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरणसमेत गरे।
निर्वाचनको दिन नजिकिँदै गरेकाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह गरे।
उनले भने, ‘गठबन्धन देशको आवश्यकता हो, संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेका हौँ, गठबन्धनलाई सफल बनाउनुपर्छ। कांग्रेसभित्रका नेताहरुलाई पनि व्यवस्थापन गरेर निर्वाचनमा जान्छौँ।’
छलफलमा सहभागी व्यवसायीले जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराए। जनताका कुरा सुन्न सधैँ जनताका माझ जानुपर्ने बताउँदै व्यवसायीले तनहुँमा कांग्रेसका नेताबीच देखिएको बेमेलले कांग्रेस कमजोर रहेको बताएका थिए।
समानुपातिक बन्दसूची सार्वजनिक
कांग्रेसले प्रतिनिधिसभा तर्फ आयोगमा बुझाएको समानुपातिक बन्दसूची सार्वजनिक भएको छ। बन्दसूचीमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि गृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जु खाणसम्मको नाम समाविष्ट छ।
यस्तै पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि बन्दसूचीमा छ भने वर्तमान सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकबाटै चुनाव लड्ने भएका छन्।
त्यसैगरी पूर्वराष्ट्रपति डा रामवरण यादवका छोरा डा चन्द्रमोहन यादवको नाम पनि बन्दसूचीमा रहेको छ। त्यसैगरी कांग्रेस प्रवक्ता प्रकाशशरण महत र पूर्वमन्त्री रोमी गौचन थकाली पनि समानुपातिक सूचीमा रहेका छन्।
यसैगरी प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारलाई पनि समानुपातिक सूचीमा राखिएको छ। त्यस्तै नेता अर्जुननरसिंह केसीका भाइसमेत रहेका डा केदारनरसिंह केसी, देउवानिकट केन्द्रीय सदस्य अब्दुल सतारको नाम पनि बन्दसूचीमा छ। त्यस्तै लेखा समितिका पूर्वसभापतिसमेत रहेका भरत शाहकी पत्नी अनिता ढुंगाना शाहको नाम पनि बन्दसूचीमा राखिएको छ।
समानुपातिकतर्फको बन्दसूचीको विषयलाई लिएर कांग्रेसमा असन्तुष्टि चुलिएको छ। उक्त सूची बुझाएसँगै नेता डाक्टर शेखर कोइराला समूह पार्टी सभापति शेरबहादुर देउवासित थप चिढिएको हो। समानुपातिक तर्फको बन्दसूचीमा संस्थापन इतर संस्थापन इतर पक्षका १३ जना मात्र छन्।
संस्थापन इतर पक्षबाट डा। चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादव छन्।

