नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम बर्दिया गएपछि राजनीतिक तरंगको बिषय बनेको छ । उनी सोमबार बर्दिया गएपछि भ्रमणलाई अर्थपूूर्ण रुपमा हेरिएको छ । मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावको मिति नजिकिँदै गएको अवस्थामा गौतम एकाएक बर्दिया झुल्किएपछि चासोको साथ हेरिएको हो ।
राष्ट्रियसभा सदस्यबाट गौतमले राजीनामा दिएर प्युठान वा बर्दियाबाट चुनाव लड्न चर्चा भइरहेको छ । ती दुई जिल्लामध्ये गौतमको अन्तिम रोजाइमा प्युठान परेको छ । चुनावका लागि गौतमले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर लग्न सहमत भइसकेका छन् ।
यस्तो अवस्थामा गौतम बर्दियामा देखा परेपछि धेरैले चुनावको तयारीको रुपमा आकलन गरेका छन् । तर, गौतमका स्वकीय सचिव दिपक टमटाले आफ्नो साथीको छोरीको बिहे भएकाले निम्तो मान्न बर्दिया गएको बताए ।
‘आफ्नै निर्वाचन क्षेत्रमा साथीको छोरीको विवाह छ । त्यसैले निम्तो मान्न बर्दिया जानुभएको छ । वामदेव कमरेड चुनाव लड्ने तयारीका साथ माहोल बनाउन जानु भएको होइन । चुनाव ल’ड्ने तयारी पनि छैन’ टमटाले भने । यदि सत्ता गठबन्धनमा सहमति भएमा गौतम राष्ट्रियसभाबाट राजीनामा दिएर प्रत्यक्ष चुनाव लड्ने योजनामा छन् । यद्यपि गठबन्धनभित्रै भागवण्डा पेचिलो भएपछि गौतमको विषयमा कुनै निर्णय हुन सकेको छैन ।
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्युठानबाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उठ्ने च्याप्टर क्लोज भएको पनि चर्चा चलेको छ ।
पाँच दलीय गठबन्धनबाट प्युठानमा प्रतिनिधिसभाका लागि जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले टिकट पाउने करिब पक्का भएपछि वामदेव बर्दियातिर सोझिएका छन्।
सत्ता गठबन्धबनबीच भागबन्डाका क्रममा प्युठानबाट पौडेल र बागलुङको एउटा क्षेत्रबाट अध्यक्ष चित्रबहादुर केसी उठ्ने करिब पक्का भएकोछ। यस्तो अवस्थामा गौतमले प्युठानबाट उठेर जित्न सहज हुने आँकलनसहित त्यसतर्फ नजर सोझ्याएका थिए।
त्यसका लागि उनले नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्नबाट उठ्ने निर्णय पनि गरेका थिए। उनी र डा। बाबुराम भट्टराईलाई आफ्नो चुनाव चिह्न दिने निर्णय माओवादी केन्द्रले पनि गरिसकेको छ।
तर, आफ्नो जन्मस्थान प्युठानमा अब वामदेव फर्किने सम्भावना सकिएको छ। २०७० को संविधानसभा निर्वाचनमा उनी प्युठानबाट निर्वाचित भएका थिए।
तर उनी २०७० बाहेक २०४८ यताका सबै निर्वाचनमा बर्दिया १ बाट उठ्दै आएका थिए। तर उनै गौतम ०७४ मा वाम गठबन्धनको तर्फबाट उठेर पनि कांग्रेसका सञ्जय गौतमसँग पराजित भए। २८ हजार धेरै मत भएर पनि उनले पराजय भोग्नु परेको थियो।

