सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीले अनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि नाङ्लो पसल राख्नेले भने एकैछिनमा फाराम भरिदिन्छन् । ‘सेवा शुल्क’ मात्र हजार रुपियाँ पर्छ ।
अनलाइन आवेदन कति बजेदेखि खुल्छ भन्ने नाङ्लो पसल राख्नेलाई थाहा हुन्छ । अनि उनीहरूले भरेको फाराम अनलाइनमा स्वीकृत हुन पनि समय लाग्दैन तर सेवाग्राही आफैँले भर्न भने महिनौँ मुस्किल हुन्छ ।
आवेदन २४ घण्टा खुला भनिएको हुन्छ तर रातिको १२–१ बजे भर्दासमेत सेवाग्राहीले फाराम भर्न सकेका हुँदैनन् । यस्तैमा बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय एकान्तकुनाले लाइसेन्सको नयाँ आवेदन छठसम्मका लागि बन्द गरेको छ ।
सरुवा भएर आउने १५ जना कर्मचारी कार्यालयमा हाजिर नभएकाले र बाँकी रहेकाले काम गर्नुपर्ने भएकाले बन्द गरिएको एकान्तकुनाका कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए ।
अनलाइन आवेदन खुला भएको समयमा भर्नेको चाप, तोकिएको कोटा पूरा भएपछि भर्न नसकिने प्रमुख कपालीको भनाइ छ ।
उनले भने, “फाराम भर्नेले भर्न नसक्नुको मुख्य कारण कोटा सकिएपछि हो, अर्को कुरा मोबाइलबाट भर्दा समस्या देखिएको छ, विवरण पछि सच्याउनुपर्ने केस आइरहेका छन् । त्यसैले ल्यापटप वा कम्प्युटरबाटै भर्दा राम्रो हुन्छ ।”
यस्तै, अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा कहीँकतै छोए वा भुइँ टेकिएमा अनुत्तीर्ण भइन्छ भन्ने चिन्ता नलिए हुन्छ । यस्तो परीक्षामा कम्तीमा ७० अङ्क प्राप्त गर्नुभएमा मजाले लाइसेन्स हात पर्नेछ ।
बागमती प्रदेशमा आगामी असोज १ गतेबाट सवारी चालक अनुमतिपत्रको परीक्षामा नयाँ मापदण्ड लागू हुँदैछ ।
नयाँ मापदण्डअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था गरिएको छ । यसबाट पटक–पटक अनुत्तीर्ण भई लाइसेन्स प्राप्त गर्न नसकेकाहरूका लागि रा’हत हुने भएको छ ।
बागमती प्रदेशको श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले नयाँ मापदण्ड कार्यान्वयनको तयारी भइरहेको जानकारी दिनुभयो ।यो समाचार गोरखापत्र दैनिकमा छ ।

