छैटौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि विराटनगरमा सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक विराटनगर-११ र सिक्किम युनाइटेड फुटबल क्लब भिड्दै छन् । प्रतियोगिताका सबै खेलहरु सहीद रङ्गशालामा बेलुका ७ बजेपछि फ्लडलाइटमा खेलाइने छन् ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनसहित अफ्रिकन क्यामरुन र भारतका टोलीसहित १० टोली सहभागी हुनेछन् । प्रतियोगितामा नेपालका मनाङ मर्स्याङ्दी, सशस्त्र प्रहरी, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही र आयोजक विराटनगर–११ रहेका छन् ।
त्षसैगरी भारतको पञ्जाब पुलिस, युनाइटेड सिक्किम फुटबल क्लब र क्यामरुनको अफ्रिकन रुट्स एशोसिएशन टोलीको पनि सहभागिता रहेको छ । गोल्डकप विजेता टोलीले ट्रफीसहित रु १५ लाख १५ हजार र उपविजेता टोलीले रु सात लाख ५१ हजार नगद र आकर्षक शिल्ड प्राप्त गर्नेछन् ।
पाँचौँ संस्करण विजेताले रु १३ लाख पुरस्कार पाएको थियो भने उपविजेताले रु सात लाख प्राप्त गरेको थियो । प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई रु १५ हजार नगद रहेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ ।