जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आगामी मंसिर ४ गतेको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरिएको छ । जसपाका प्रवक्ता मनिष सुमनले उपेन्द्र यादव प्रधानमन्त्री बने आश्चर्य नमान्न सुुझाएका छन् ।
उनले आफ्नो दलले सिद्धान्तसँग कुनैपनि कुराको साँ’ठगाँठ नगर्ने बताएका छन् । शनिबार राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी निर्वाचनमा कसैको पनि बहुमत नआउने दाबी गरे । उनले चुनावपछि एमालेसँग पनि सहकार्य हुन सक्ने सम्भावना रहेको सुनाए । उनले अहिले मुलुकमा संघीयता हुनुको कारण नै जसपा नै भएको स्पष्ट पारे ।
यता, जसपा पाँच दलीय गठबन्धनबाट बाहिरिने तयारीमा लागेपछि अर्कै खिचडी पाक्न लागेको छ । सिट बाँडफाँटमा सम्माजनक भाग नपाउने भएपछि जसपा गठबन्धनबाट बाहिरिन लाग्दा लोकतान्त्रिक समाजवादी पार्टी भित्रिने भएको छ ।
शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले सत्ता गठबन्धनमा सम्मानजनक सिट नपाउने भएपछि बाहिरिने संकेत गरेको छ । उसले सिट तालमेलको लागि अन्य दलसँग पनि विकल्प खुला राखेको छ ।
जसपा गठबबन्धनबाट बाहिरिने तयारी गरेसँगै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा भित्र्याउने तयारी गरेका छन् ।
यसअघिपनि लोसपा गठबन्धनमा आउने तयारीमा थियो । लोसपासँग यसअघि नेकपा (एमाले) ले पनि चुनावी सहकार्यको लागि प्रयास गरेको थियो । तर, लोसपाले धेरै सिट दाबी गरेकोले सहमति हुन सकेको थिएन ।