माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन् । प्रधानमन्त्रीको दाबेदार भएकै कारण उनले चितवन छाडेर गोरखा २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने मनस्थिति बनाएका छन्।
पूर्वप्रधानमन्त्रीसमे रहेका उनले निर्वाचनपछि पार्टी एकता नै गर्नेगरी माओवादीसँग चुनावी मोर्चाबन्दी गरेका बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नै चितवन ३ भन्दा सुरक्षित क्षेत्र गोरखा २ बाट प्रतिनिधि सभा चुनाव लड्न प्रस्ताव गरेपछि गोरखा जाने मनस्थिति बनाएका हुन्।
भट्टराई २०७४ मा गोरखा २ बाट निर्वाचित सांसद हुन् भने श्रेष्ठ सोही क्षेत्रबाट भट्टराईसँग पराजित भएपछि अहिले राष्ट्रिय सभाको सदस्य छन्। भट्टराई र श्रेष्ठबीच प्रतिस्पर्धा रहेको गोरखा २ मा उनीहरू दुवैले प्रस्ताव गरेपछि प्रचण्डका लागि निर्णय गर्न सहज भएको छ। तर प्रचण्डले अन्तिम निर्णय लिइसकेका छैनन्।
‘बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले नै गोरखाबाट चुनाव ल’ड्न अध्यक्षलाई प्रस्ताव गर्नु भएको छ, गोरखाका साथीहरूको पनि माग छ,’ प्रचण्ड निकट माओवादीका एक नेताले भने, ‘जाने मनस्थिति भए पनि अध्यक्षले निर्णय गरिसक्नु भएको छैन।’
चितवनका माओवादी नेताहरूले भने प्रचण्डलाई चितवन नछाड्न आग्रह गरेको उनले बताए। बारम्बार चितवनबाटै निर्वाचन ल’ड्ने बताउँदै आएपनि अघिल्लो हप्ता भरतपुरको आफ्नो नयाँ घरमा तीन दिन बसेर फर्केपछि प्रचण्ड मौन छन्।
कांग्रेसभित्रको विवाद बढ्दै गर्दा माओवादीका चितवन जिल्ला सहइन्चार्ज यमबहादुर परियारसहित केही कार्यकर्ता एमाले प्रवेश गरेपछि सायद प्रचण्डलाई गोरखा जाने टुंगोमा पुग्न बल मिल्यो। यद्यपी एमाले प्रवेश गरेका केही कार्यकर्ता एक हप्तापछि नै माओवादीमा फर्केर सक्रिय भएका छन्।
निर्वाचनपछि कांग्रेस वा एमालेसँग गठबन्धन सरकार बन्दा प्रचण्ड प्रधानमन्त्रीका आकांक्षी हुन्। त्यसैले पनि उनले जो’खिमरहित क्षेत्रमा जानु पर्ने सल्लाह कार्यकर्ताले दिँदै आएका छन्।

