मकवानपुरको कैलाश गाउँपालिका वडा–९ का विनोद विष्टलाई अदुवा खेती गर्ने जाँगर थपिएको छ । आफ्नो दैनिकी चलाउनका लागि गरिँदै आएको अदुवा सुरक्षित भण्डारण गर्न पाइने भएपछि उहाँ खुशी हुनुभएको हो ।
हरेक वर्ष बीउका लागि घरमै फिँजाएर राख्ने गरिएको अदुवा सुक्ने, कुहिने गरेकोमा अब सुरक्षित हुने भएपछि विष्ट खुशी हुनुभएको छ । बीउ छुट्याएर राखिएको अदुवा कोही वर्ष कुहिएर रोप्नै नपाएको अनुभव उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो–‘अदुवाको बीउ जोगाउनै गाह्रो हुने गरेको थियो ।
अब त त्यस्तो नहोला भनेर साह्रै खुशी लागेको छ । बेच्ने जति बेच्यो, बाँकी बिउलाई छुट्याएर केन्द्र घरमा राख्यो । अब रोप्न राखिएको बिउ खेर नजाने भयो । अदुवा भण्डारणले ९ नम्बर वडाबासीलाई खेती गर्ने जाँगर थपिएको उहाँको भनाइ छ ।
कैलाश गाउँपालिका जिल्लाकै सर्वाधिक अदुवा उत्पादन हुने पालिकाका रुपमा चिनिँदै आएको छ । नगदेबालीका रुपमा खेती गरिने अदुवा यस वर्ष राम्रो उत्पादन भएको कैलाश गाउँपालिकाका सूचना अधिकारी उमेश राईले जानकारी दिनुभयो ।अन्य वर्षको तुलनामा अदुवा उत्पादनमा उल्लेख्य वृद्धि भएको पाइएको छ । प्रतिहेक्टर ६२ मेट्रिकटन अदुवा उत्पादन भएको तथ्यांक गाउँपालिकाले सार्वजनिक गरेको छ ।
कैलाशका अधिकांश मानिस अदुवाखेती गरेर वर्षेनी लाखौं आम्दानी गरिरहेका छन् । हाल बजारमा अदुवाको भाउ प्रतिकिलो ७० देखि ८० रुपियाँ छ । सोही मूल्यमा कैलाश गाउँपालिका–३, ४, ५, ८, ९ र १० नम्बर वडाका किसानहरु बारिबाट अदुवा बिक्री गरिरहेका छन् ।
कैलाशमा उत्पादन भएको अदुवा बिउका लागि थाहानगर, राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिकालगायत पालिका तथा बाहिरी जिल्लाहरुमा समेत बिक्री हुने गरेको छ । अदुवाको बिउ किन्न गाउँमै किसान जाने गरेको पालिकाका सूचना अधिकारी राईले जानकारी दिनुभयो ।
माघ अन्तिमदेखि चैतसम्म खनिने अदुवा आफ्नो बारिमा अर्कोपटक लगाउन राख्ने बाँकी बिक्री गर्ने गरिएको छ । बारिमा अर्को पटक लगाउन बिउ सञ्चितिका लागि पालिकाको सहयोग तथा सहकारी संस्थाको समन्वयमा अदुवाको बिउ भण्डारण केन्द्र व्यबस्थापन गरिएको छ । बिउ भण्डारण केन्द्रहरु हरेक वडामा हुँदा किसान खुशी भएका छन् ।
अदुवा उत्पादन हुने वडामा बिउ भण्डारण केन्द्र स्थापना गरिएका छन् । किसानले अदुवा भण्डारण गर्दा एक तह बालुवा, एक तह अदुवा गरेर मिलाएर राख्ने गर्छन् । त्यसरी भण्डारण गर्दा अदुवा सुक्ने समस्याबाट छुटकारा पाइने किसानको भनाइ छ । अदुवा एक वर्षे बालीका रुपमा खेती गरिन्छ । अदुवाको रेशादार जरा हुन्छ र यो हत्केलाझैं फिँजिएको हुन्छ । अदुवाको महत्वपूर्ण भाग हत्केलाझंै फिँजिएका २०÷३० सेन्टिमिटर लामो र २ देखि ३ सेन्टिमिटर माटोभित्र फल्ने गानो हो ।