नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीको अफर ठाडै अस्विकार गरेकी छिन् । ओलीले शाक्यलाई प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न प्रस्ताव गरेका थिए । तर, शाक्यले भने संसदीय राजनीति नगर्ने घोषणा गरेकी छिन् ।
अध्यक्ष ओलीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा प्रत्यक्ष निर्वाचन लड्न प्रस्ताव गरेका छन् । ओलीको प्रस्ताव उपाध्यक्ष शाक्यले अस्वीकार गरेपछि एमालेमा बहस भएको छ । कतिपय नेताले चाहेर पनि टिकट नपाइरहेका बेला ओलीले शाक्यलाई आफै अफर गरेका थिए ।
‘अहिले मुलुकको राजनीति धेरै जटिल छ । यो अवस्थामा तपाई काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्नुस्’, अध्यक्ष ओलीले शाक्यलाई केही दिनअघि भनेका थिए, ‘तपाईंले संसदीय राजनीति नगर्ने भन्नुभएछ ।
त्यो अभिव्यक्ति फिर्ता लिनुस् अहिले नै छोड्ने बेला भएको छैन ।’ जवाफमा शाक्यले आफुले यसअघि नै संसदीय राजनीति नगर्ने भनेर बोलेको भन्दै आफु सोही अडानमा कायम रहेको बताएकी थिइन् ।
‘मैले बारम्बार संसदीय राजनीति गर्दिन, पार्टी काममात्र गर्छु भनेको हो, अव मलाई पुग्यो पनि । किनभने अरु नयाँलाई पनि ठाउँ दिनुपर्छ । कि म सांसद नै नभएको भए ठिकै छ भन्ने हो । म पटकपटक सांसद मन्त्री र मुख्यमन्त्री समेत भैसकेको पनि छु’, शाक्यले ओलीको प्रस्ताव अस्वीकार गर्दै जवाफ दिएकी छन् ।
शाक्यले उम्मेदवार बन्न अध्यक्षबाट प्रस्ताव आएको स्वीकार गरिन् । उनले भनिन्, ‘मलाई अध्यक्षले काठमाडौ निर्वाचन क्षेत्र नम्बर–८ बाट उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको हो । तर मैले मलाई पुग्यो नयाँ खोज्नुस् भन्ने जवाफ दिएँ ।’

