नेकपा एकीकृत समाजवादी सत्तारुढ गठबन्धनबाट बाहिरिएको छ । कञ्चनपुमा सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णयसँगै पार्टीले प्रदेशसभामा मित्रवत प्रतिष्पर्धा गर्दै आफ्ना उम्मेदवारलाई मैदानमा उतारेको हो ।
प्रतिनिधिसभाका तीन र प्रदेश सभाका ६ निर्वाचन क्षेत्रमध्ये एउटा पनि सिट नपाएपछि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको छ । गठबन्धनमा दाबी रहेको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २(ख) र ३(क) मा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएको छ ।
सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीबाट टिकट नपाएपछि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल र पूर्व सामाजिक विकासमन्त्री लालबहादुर खड्का गठबन्धनविरु’द्ध बागि उम्मेदवार बन्ने भएका छन् ।
रावल क्षेत्र नम्बर ३(क) र खड्का क्षेत्र नम्बर २(ख) मा चुनाव लड्ने छन् । ‘गठबन्धनबाट कञ्चनपुरमा एउटा सिट पाएनौँ, हाम्रो दाबी रहेको क्षेत्रमा उम्मेदवारी दिन्छौँ,’ आर्थिक मामिलामन्त्री रावलले भने, ‘कांग्रेस र माओवादीसँग मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’
सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीले ३ (क) र ३ (ख) मा अन्तिमसम्म दाबी गरेको थियो । प्रदेश सभा ३ (क) मा सत्तारुढ गठबन्धनबाट माओवादीका संविधानसभा सदस्य टेकेन्द्रप्रसाद भट्ट र २ (ख) मा कांग्रेसका नेता पूर्व संविधान सभा सदस्य बहादुरसिंह थापाले टिकट पाएका छन् ।

