निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका कांग्रेस महामन्त्री गगन थापालाई काठमाडौं– ४ मा चुुनाव जित्न निकै कठिन देखिएको छ । उनीसँग एमालेका राजन भट्टराई काठमाडौं– ४ बाट प्रतिस्पर्धामा बलिया उम्मेद्वारका रुपमा छन् ।
यसअघि निरन्तर दुईवटा जित निकालेका उनका लागि सत्ता गठबन्धनको साथले तेस्रो जित निकाल्न थप सहज हुने विश्वास भएपनि ठूूलो चुुनौती छ । २०७४ सालमा भएको चुनावमा थापासँग पराजित भएका एमाले उम्मेदवार राजन भट्टराई यसपटक गगनविरुद्ध जसरी पनि जित निकाल्ने रणनीतिमा देखिएका छन् ।
काठमाडौं– ४ तुलनात्मक रूपमा एमालेको प्रभाव भएको क्षेत्र हो । यो क्षेत्रमा पर्ने बूढानीलकण्ठ नगरपालिकाको प्रमुख र उप्रमुख एमालेले जित्दै आएको छ । यद्यपि, थापाको व्यक्तिगत लोकप्रियता जितका लागि अनुकूल बन्दै आएको छ । जुन आउने चुनावमा पनि निरन्तर रहने थापाको विश्लेषण देखिन्छ ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका परराष्ट्र सल्लाहकारसमेत भइसकेका भट्टराई र कांग्रेसका महामन्त्री थापाबीच प्रतिस्पर्धा रोचक हुने संकेत देखिएको छ । अघिल्लोपटकको चुनावमा वाम गठबन्धनका उम्मेदवार भट्टराईलाई पराजित गरेका कारण थापाको प्रभाव बलियो रहेको अनुमान गरिएको छ ।
तर, थापाले विकास निर्माणको काममा खासै मतलब नगरेको भनेर आ’लोचना पनि भइरहेको छ । साथै, व्यक्तिगत लोकप्रियता पनि घट्न थालेको भन्दै भट्टराई पक्ष जितको आसमा छ ।
अघिल्लो चुनावमा थापाले वाम गठबन्धनका उम्मेदवार भट्टराईलाई ३ हजार ४ सय १८ मतान्तरले पराजित गरेका थिए । थापाले २१ हजार ५ सय ५८ मत पाउँदा भट्टराईले १८ हजार १ सय ४० मत ल्याएका थिए ।
काठमाडौं– ४ मा पाँच जना स्वतन्त्र उम्मेदवार छन् । प्रायः सामाजिक कार्यबाट लोकप्रियता कमाएका व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस कारणले पनि थापा र भट्टराईको प्रतिस्पर्धालाई रोचक बनाउन सक्छ । काठमाडौं– ४ मा राप्रपाबाट ठाकुरमोहन श्रेष्ठ, युवा इन्जिनियर आकर्षण पोखरेल र अर्जुन प्रसाईंले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
यो क्षेत्रमा इन्जिनियर पोखरेल र राप्रपाका श्रेष्ठले कांग्रेस महामन्त्री थापा र एमालेका भट्टराईको मत काट्ने विश्लेषण भइरहेको छ । तर, स्वतन्त्र उम्मेदवारको प्रभाव खासै नपर्ने पार्टीका नेताहरूले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।
यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडाहरू १, ७, ८ र ३० पर्छन् । यस्तै, बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्छन् । ३० वैशाखको स्थानीय तहको चुनावमा काठमाडौं– ४ मा पर्ने १२ वटा वडामध्ये कांग्रेसले तीनवटा वडाध्यक्ष मात्र जितेको छ ।
काठमाडौं महानगरपालिकाका ७, ८ र ३० मा वडाध्यक्ष कांग्रेसले जितेको छ भने बाँकी एउटा वडाध्यक्ष मात्रै एमालेले जितेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र बूढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ मा वडाध्यक्ष एमालेले जितेको छ ।
गत स्थानीय चुनावमा काठमाडौं– ४ मा एमालेको १६ हजार ४ सय ६ मत, कांग्रेसको १५ हजार ७ सय ६३ मत, राप्रपा २ हजार २ सय ९३ मत, एसको २ हजार ४ सय १४ मत माओवादी ८ सय ४४ मत र जसपाले ३ सय १४ मत ल्याएको थियो ।

