नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुुरामा नेकपा एमालेले अध्यक्ष नै उम्मेदवारी फिर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले नै निवेदन दिएर आफ्नै पार्टीका उम्मेदवारको उम्मेदवारी फिर्ता गराएका हुुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले दिएको जानकारीअनुसार सो पार्टीका उमेदवार चत्र प्रसाद स्नेहीको नाम फिर्ता लिन एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै निवेदन पेस गरेका थिए ।
“उमेदवार मनोनयन गरेको दलको तर्फबाट केपी शर्मा अोलीले निवेदन पेस गरेको हुँदा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम निजको नाम उमेदवारको सूचीबाट हटाई यो सूचना प्रकाशन गरिएको छ,” सूचनामा भनिएको छ ।

यता, देउवाको अनुरोध कास्की–२ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महादेव गुरुङले अश्वीकार गरेपछि उम्मेदवारी कायम नै रहेको छ । गुरुङको बागी उम्मेदवारी फिर्ता गराउन देउवाले लामो प्रयास गरेका थिए ।
गुरुङले बार्गे’निङका लागि नभई, सिद्धान्त र निष्ठाका आधारमा उम्मेदवारी दिएको भन्दै उम्मेदवारी फिर्ता नलिएका हुन् । उम्मेदवारी फिर्ता गराउन पार्टी सभापति शेरबहादुर देउवाले गुरुङलाई फोन गरेर दवाव दिएका थिए । आफुले पद र पैसाका लागि कहिल्यै राजनीति नगरेको बताउँदै अवसर चाहना नभएको उनले बताए ।
गुरुङले आफूलाई देउवाले नै मन्त्री पद दिँदा त नखाएको बताउँदै अहिले आएर अवसरमा आश्वासनमा नबिक्ने दाबी गरे । गठबन्धनको भागबण्डामा कास्की क्षेत्र नम्बर २ नेकपा एकीकृत समाजवादीलाई परेको छ । समाजवादीका नेता श्रीनाथ बराल चुनावी मैदानमा छन् । एमालेको प्रभाव मानिएको यो क्षेत्रमा विद्या भट्टराई प्रतिस्पर्धामा छिन् ।

