नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग आगामी निर्वाचनमा टक्कर लिन खोजेका बीपी कांग्रेसमा कर्ण मल्ललाई धक्का लागेको छ । यसअघि ६ पटक संसद छिरिसकेका देउवालाई मल्लले टक्कर दिन खोजेका छन् ।
२०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवालाई मंसिर ४ को निर्वाचनमा रोक्ने प्रयास कुनै समय देउवाकै विश्वास पात्र रहेका मल्लले नै गरे । दोहोरो जन्म मितिलाई लिएर उजुरी गर्दै उम्मेदवारी नै खा’रेज गराउने पहिलो प्रयास नै असफल भएको छ।
प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा सात वटा पालिका छन्। जसमध्ये अजयमेरु गाउँपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका, गन्यापधुरा गाउँपालिका, अमरगढी नगरपालिका र परशुराम नगरपालिका रहेका छन्।
यी पालिका अन्तर्गतका वडाहरुमा अध्यक्षका उम्मेदवारहरुले पाएको एकीकृत मतमा कांग्रेस अगाडि छ। त्यहाँ कांग्रेसले २१ हजार ७३५, माओवादी केन्द्रले १२ हजार ८७८, नेकपा एमालेले १० हजार ४४९, एकीकृत समाजवादीले ५ हजार ४१ र कांग्रेस बीपीले ३ हजार ६०३ मत पाएको छ। त्यस्तै, अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारहरुले २ हजार ५४८ मत पाएका छन्।
२०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ भएको निर्वाचनमा डडेलधुराबाट विजयी भएका देउवालाई स्थानीय तहकको मतभार अनुसार रोक्न मुस्किल छ।

