शिक्षक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले आज माध्यमिक तह, तृतीय श्रेणी, नेपाली विषयको शिक्षक पदको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले गत असार ९ गते लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको अन्तर्वार्ता मंगलबार र बुधबार लिएको थियो । उक्त अन्तर्वार्तामा उत्तीर्ण उम्मेदवारहरुको विवरणसहितको नतिजा प्रदेशगत रुपमा सार्वजनिक गरेको छ ।
आयोगको नतिजा अनुसार तीन प्रदेश मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा नेपाली विषय शिक्षक रिक्त दरबन्दी अनुसार छनोट हुनसकेको देखिंदैन ।
मधेश प्रदेशमा ३२ रिक्त पदको लागि २३ जना, बागमती प्रदेशमा ३५ रिक्त दरबन्दीको लागि ३४ जना र गण्डकी प्रदेशमा ५५ रिक्त पदको लागि ५२ जना मात्रै छनोट भएका छन् ।
त्यस्तैगरी आयोगले शुक्लयजुर्वेद, न्याय विषयको पनि नतिजा सार्वजनिक गरेको छ । एक–एक रिक्त दरबन्दीको लागि उम्मेदवार माग गरेको थियो ।
पाठ्यक्रम परिवर्तन हुँदैनः शिक्षक सेवा आयोग
शिक्षक सेवा आयोगले तत्काल कुनै पनि पाठ्यक्रम परिवर्तन नहुने बताएको छ। विभिन्न अनलाइन माध्यम, सामाजिक सञ्जाल र तयारी कक्षा सञ्चालकहरुले अफवाह फैलाएको भन्दै पाठ्यक्रम परिवर्तन नहुने जनाएको हो ।
शिक्षक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक परीक्षा वा अध्यापन अनुमति पत्रको परीक्षाका सन्दर्भमा पाठ्यक्रम परिवर्तन हुने हो कि भन्ने धेरै जिज्ञासा आएको र यो विषयलाई लिएर आयोगको गम्भिर ध्यनाकर्षण भएको आयोगका सूचना अधिकारी सुर्दशन मरहठ्ठाले बताए ।
उनले भने “आयोगले पाठ्यक्रम परिवर्तन गर्ने सन्दर्भमा अहिलेसम्म कुनै निर्णय वा तयारी गरेको छैन यो अफवाह फैलाइएको हो । पाठ्यक्रम परिवर्तन हुन्छ की भनेर कोही पनि भ्र’ममा नपर्नु होला । शिक्षक सेवा आयोगले विगतमा पाठ्यक्रम जुन तय गरेको छ त्यही पाठ्यक्रमबाट परीक्षा हुने कुरामा विश्वस्त भएर आफ्नो तयारीमा लाग्न आग्रह गर्दछु ।”