अब जीन एक्सपर्ट विधिबाट कोरोना भाइरस परीक्षण हुने भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट जीन एक्सपर्ट विधिमार्फत् कोरोना परीक्षण हुने भएको हो । बिहान ९ देखि बेलुका ७ बजेसम्म जीन एक्सपर्ट विधिबाट परीक्षण गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाले जारी गरेको सूचना अनुसार यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपोर्ट तीन घण्टामा आउने छ । प्रयोगशालाले छिटो रिपोर्ट चाहिनेका लागि भन्दै यो विधिबाट कोरोना परीक्षण सेवा सुरु गरेको हो ।
‘तुरुन्त उपचार गर्नुपर्ने अवस्था’ भनी चिकित्सक तथा अस्पतालले सिफारिस दिएमा जीन एक्सपर्ट विधिबाट परीक्षण गर्न सकिनेछ । सेवा शुल्क एक हजार कायम गरिएको छ । त्यस्तै, उपचार वा कुनै पनि स्वास्थ्य सेवा लिनेक्रममा चित्त नबुझे वा त्रुटि आशंका लागे सरकारलाई गुनासो टिपाउन मिल्नेसमेत भएको छ ।
स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बरमा गुनासो टिपाउन सक्ने व्यवस्था गरिएको छ । कुनै पनि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गर्नेक्रममा सेवाग्राही सर्वसाधारणलाई कुनै समस्या भए वा सेवा प्रदायकबाट कुनै त्रुटि भए हटलाइन नम्बर ११३३ मा कल गरेर गुनासो टिपाउनसक्ने व्यवस्था मिलाइएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार सर्वसाधारणले हटलाइन नम्बरमा बिहान ८ देखि बेलुका ८ बजेसम्म खुला रहने र गुनासो टिपाउन सकिने छ । डा. अधिकारीका अनुसार यसरी आएका गुनासामा मन्त्रालयले गम्भीर रूपमा समन्वय गर्दै गुणस्तरीय सेवा प्रदान हुने व्यवस्था गर्नेछ ।
सम्बन्धित निकायसँगको समन्वयमा छानबिन गरी सेवा प्रदायक व्यक्ति वा संस्था दोषी पाइए नियमअनुसार कारबाहीसमेत गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, देशभर बिहीबार थप ३ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाअन्तर्गत् काठमाडौंमा १ सय ३९, भक्तपुरमा सात र ललितपुरमा २२ जना गरी १ सय ६८ जना थपिएका छन् ।
देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ६ जनाको पीसीआर विधिबाट गरिएको थियो । योसँगै देशभर कोरोना संक्रमित कुल संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ६ सय ८ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमित संख्या २ हजार ४ सय ५४ रहेको छ । क्वारेन्टाइनमा ७७ जना रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ । केही दिनयता संक्रमित संख्या बढ्दै गएपछि सरकारले भौतिक दूरी कायम, मास्क समूचित प्रयोग कायम गर्न आग्रह गर्दै आएको छ।