इन्टरनेटमा हामी सबैभन्दा धेरै गुगलको सेवा प्रयोग गर्छौं । आज हामी तपाईंहरुलाई यही गुगलको सिलिकन भ्यालीमा अवस्थित भव्य मुख्यालयको बारेमा बताउँदै छौं । सान फ्रान्सिस्कोको खाडीबाट छोटो दूरीको पैदलयात्रापछि आइपुग्ने गुगलको मुख्यालय अन्य ठूला प्रविधि कम्पनीहरू एप्पल, फेसबुक, इबे र नेटफ्लिक्सकाे मुख्यालय नजिकै छ ।
२६ एकडको जमिनमा फैलिएका यी कम्पनीहरुको मुख्यालय परिसरभित्र गुगलको मुख्यालय ‘गुगलप्लेक्स’ देख्न सकिन्छ । गुगलको मुख्यालयको नाम गुगल कम्प्लेक्स शब्दको समायोजनबाट जुर्न गएको हो । गुगलले आफ्नो मुख्यालय निर्माण गर्न सिलिकन ग्राफिक्सबाट जमिन खरिद गरेको हो, जसले जुरासिक पार्कको लोकप्रिय डायनसर बनाएको थियो ।
गुगलप्लेक्सको परिसर र भवन यसप्रकारले डिजाइन भएको छ, जसले कर्मचारीको उत्पादकत्व मात्र होइन, उनीहरुको सन्तुष्टि पनि बढाउन सक्छ । गुगलप्लेक्सको भवन संरचनाको कुरा गर्नुपर्दा यो पूर्णतया: ग्लासले बनिएको छ । जसले प्राकृतिक प्रकाशलाई बढाएको छ ।
तीनदेखि चारजना कर्मचारीको समूहमा वर्कस्पेसलाई विभाजन गरिएको छ । कर्मचारीहरुको यति सानो क्लस्टर आइडिया जन्माउन र शेयर गर्नलाई प्रभावकारी हुने गुगलको विश्वास छ । गुगलप्लेक्सभित्र उत्पादकत्व र सौन्यदर्यता सन्तुलितरुपमा व्यवस्थापन भएको देख्न सकिन्छ ।
कर्मचारीहरु त्यहाँ काम गर्न आएका छन् भन्ने कुरा उनीहरुलाई अनुभूति गराउन गुगल चाहँदैन । यसैले कर्मचारीलाई साथीभाइसरह व्यवहार गरिन्छ । सबैको पर्याप्त सुविधा र संसाधनमाथि पहुँच छ । मुख्यालयभित्रै जिम खाना पनि छ, जुन नयाँ कुरा त होइन । तर, कम्पनीले परिसरभित्रै स्विमिङ पुलको सुविधा पनि प्रदान गरेको छ ।
यी स्विमिङ पुलहरू पनि सामान्य पुलभन्दा फरक र अत्याधुनिक छन् । पिङपोङ, बिलार्ड्स, फुटबल टेबलजस्ता विभिन्न खेलकूद सामग्री मुख्यालय परिसरभरी छन् । भिडियो गेमिङ खेल्नलाई समेत पर्याप्त स्थान यहाँ उपलब्ध छ । गुगलका आफ्नै आरामदायी पोट्स पनि छन् ।
जहाँ कर्मचरीले बाहिरी वातावरणबाट आफूलाई अलग्याएर आनन्दित मुद्रामा ठूला र भारी काम पनि गर्न सक्छन् । भवन बाहिरको कुरा गर्दा क्यालिफोर्नियाको मौसम विश्वकै सबैभन्दा उत्कृष्ट मौसममध्ये पर्ने गर्दछ । गुगलको मुख्यालयमा यसको पनि लाभ पाउन सकिन्छ ।
वातवारणसँग रम्न गुगलले कर्मचारीका लागि परिसरमा फुटबल मैदान, टेनिस कोर्टजस्ता विभिन्न किसिमका खेलकूद सुविधा र सामग्रीको व्यवस्था गरेको छ । कर्मचारीको स्वास्थ जाँच पनि कम्पनीका अनसाइट मेडिकल कर्मचारीले नै गर्ने गर्छन् । कम्पनीले कर्मचारीका लागि नि:शुल्क मसाजको समेत व्यवस्था गरेको छ ।
भित्रै हेयरकट सुविधा, लन्ड्री तथा ड्राइ क्लिनरको समेत व्यवस्था छ । यस्ता सुविधाको सूची त धेरै लामो छ । कर्मचारीहरुले विकेन्ड (सप्ताहन्त) मा आफ्नो सम्पूर्ण कपडासमेत कम्पनीकै मसिनमा सफा गर्न ल्याउने हल्ला पनि बेला-बेला चल्ने गरेका छन् । अर्को सुखद कुरा भनेको गुगलप्लेक्सका यी सम्पूर्ण सुख, सुविधा र संरचनालाई हेर्न गुगलकै कलर बाइकबाट यात्रा गर्न सकिन्छ ।
यसबाहेक गुगलले आफ्ना कर्मचारीहरुलाई उनीहरुको कार्यलय समयको २० प्रतिशत समय त आफ्नै व्यक्तिगत साइडलाइन प्रोजेक्टमा लगानी गर्ने सुविधासमेत दिएको रिपोर्टहरु समय समयमा आउने गर्छन् । ‘सेल्फ सफिसियन्सी’ गुगलप्लेक्सका लागि निकै नै महत्वपूर्ण कुरा हो ।
गुगलका कतिपय कम्प्लेक्सहरको उर्जा आवश्यकता आफ्नै छतमा राखिएका सोलार प्यानलबाट परिपूर्ति हुने गरेका छन् । यसैगरी कम्पनीको क्याफ्टेरियामा उपभोग हुने सागसब्जी तथा हर्ब्सहरु सबै गुगल पार्कभित्रकै दुईवटा बगैंचामा उत्पादन गर्ने गरिन्छ ।
धेरैजना वैज्ञानिक तथा मनोविद्हरुले मानसिक स्वास्थका लागि आउटडोर गतिविधि लाभदायक हुने जिकिर गर्छन् । गुगलले वैज्ञानिक तथा मनोविद्हरुको यी सुझावलाई मनन गर्दै कम्प्लेक्सबाहिर शान्तिपूर्ण ‘माइण्डफूलनेस स्पेस’को पर्याप्त व्यवस्था गरेको छ । उसले खाद्यन्न उत्पादन गरेको बगैंचाका खाली ठाउँहरुलाई पनि राम्रो सदुपयोग गरेको छ ।
यसबाहेक गुगलले आफ्ना कर्मचारीहरुलाई पर्याप्त खानाको सुविधा निःशुल्क उपलब्ध गराउँछ । परिसरभित्र रहेका धेरैवटा क्याफेमा कर्मचरीहरुले निःशुल्क खाजा, दिवा खाना तथा रात्रीकालीन खाना खान पाउँछन् । परिसरमा चार्लिस प्लेस पनि रहेको छ, जसलाई गुगलको पहिलो सेफ चार्ली आयर्सको नाममा नामाकरण गरिएको छ ।
खाद्यन्नमा समेत गुगलले अर्गानिक र स्वास्थकर खानालाई मात्र जोड दिएको छ । गुगलमा काम गर्ने पनि मान्छे नै हुन् । कुनै मसिन वा रोबोट होइनन् । बीच बीचमा उनीहरुलाई पनि भोक लाग्न सक्छ भन्ने बुझेर गुगलले प्रत्येक वर्किङ स्पेससँगै एउटा स्न्याक्स रुम निर्माण गरिदिएको छ ।
जहाँ हट तथा कोल्ड ड्रिङ्कसहित विभिन्न किसिमका स्न्याक्सहरू स्टक गरेर राखिएका छन् । गुगलले आफ्नो मुख्यालय सञ्चालन गर्दै गर्दा खाद्यन्नमा कति खर्च गर्छ भन्ने कुराको कुनै यकिन तथ्याङ्क त छैन । तर एकजना ब्लगरले लेखेअनुसार प्रत्येक वर्ष गुगलले करिब सात करोड २० लाख अमेरिकी डलर कर्मचारीको खाद्यन्नमा मात्र खर्च गर्दछ ।
गुगलसँग कर्मचारीको यातायातका लागि आफ्नै वाईफाई सुविधासहितको डिजेल बसहरु छन् । आफ्नै साधन हुने कर्मचारीहरुका लागि दुई हजार गाडी अटाउने अण्डरग्राउण्ड पार्किङ स्पेससमेत छ । विद्युतीय गाडीहरुलाई चार्ज गर्ने सुविधा पनि उक्त पार्किङ स्पेसमा छ ।
गुगलको मुख्यालय परिसर घुम्ने हरेकका लागि यो निकै रोमान्चक र उत्साहपूर्ण लाग्नेछ । मुख्य आउटडोर एरियामा एन्ड्रोइड स्ट्याच्यूका सैनिक पनि ठडिएका छन् । यति भव्य र बिलासीपूर्ण भवन र परिसरका लागि गुगलले कति खर्चिएको भन्ने जिज्ञासा तपाईंको मनमा पनि पलाउन सक्ला । वास्तवमा यो साइटका लागि मात्र गुगलले एक अर्ब डलर खर्चिएको छ ।