नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका केही तस्बिर शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भए। ललितपुरको लाँकुरी भन्ज्याङस्थित ‘द टेरेसस रिसोर्ट’मा रमाइरहेका बेलाका तस्बिर थिए ती। जसमा ओलीले दूरबिनबाट टाढाको दृश्य नियालिरहेको, पिङ खेलिरहेको, नेताहरूसँग उभिएर मोबाइलमा हेरिरहेको र समूहमा बसेर छलफल गरिरहेको जस्ता तस्बिर छन्।
यसरी तामझामसहित लाँकुरी भन्ज्याङमा देखिएका अध्यक्ष ओली प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा लेखनका लागि त्यहाँ पुगेको बताइएको छ।
ती तस्बिरमा अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी निर्देशक सुशील ज्ञवालीलगायत देखिन्छन्। उनीहरूबाहेक केही विषयविज्ञ समेत टोलीमा रहेको एमाले स्रोतले जनाएको छ।
ओलीको सचिवालय स्रोतका अनुसार टोलीले लाँकुरी भन्ज्याङगमा बसेर घोषणापत्रको मस्यौदा तयार पारिरहेको छ। प्रारम्भिक रूपमा घोषणापत्रका लागि जनस्तरबाट प्राप्त सुझावको अध्ययन, विश्लेषणसहित मस्यौदा लेखन भइरहेको छ। अध्यक्ष ओलीले घोषणापत्र निर्माणका क्रममा व्यस्त भएको देखाउन पहिलोपटक यसरी सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका होइनन्।
यसअघि पनि उनी पटकपटक सार्वजनिक चर्चा बटुल्नेगरी घोषणापत्रबारे प्रस्तुत भएका छन्। दुई दिनअघि मात्रै घोषणापत्रकै विषय उल्लेख गर्दै ट्विटर र फेसबुकमा उनले एक तस्बिर सार्वजनिक गरेका थिए।
कुर्सीमा बसेर रातो कलमले लेखनमा ध्यानमग्न आफ्नो तस्बिर उनले सार्वजनिक गरेका थिए। जसको क्याप्सनमा उनले लेखेका थिए, आउँदो चुनावका लागि घोषणापत्रमा राख्न तपाईंले पठाएका सुझावहरू हेर्नतिर लागियो।
भदौ २७ गते पनि ओलीले घोषणापत्रका सन्दर्भमा एक भिडिओ सामग्री सार्वजनिक गरेका थिए। ५७ सेकेन्डको उक्त भिडिओको प्रारम्भमा कम्युटरमा बसेर आफ्नै पेजमा आएका टिप्पणीहरू पढिरहेको दृश्य देखाइएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
एमालेले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २६ साउनमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो । अध्यक्ष ओलीको संयोजकत्वमा रहेको कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।

