माओवादी केन्द्रको कारवाहीका कारण पदमुक्त भएका ४ जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ती अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह, र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई नियुक्त गरिएको हो ।
उनीहरुलाई नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम नियुक्त गरिएको प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए । उनीहरुको अपराह्न ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको छ ।
थप २८८ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०७१ जनामा गरिएको परीक्षणमा २८८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौं जिल्लामा मात्र ११७, कास्कीमा ३३, मोरङमा १३, रुपन्देहीमा १६, दाङमा १४ र सुर्खेतमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ । तीमध्ये २ लाख ७३ हजार ७३५ जना निको भएका छन् भने ३०३८ जनाको मृत्यु भएको छ । हाल देशभर २६१५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपाल प्रवेश विन्दुमा गरिएको एन्टिजेन परीक्षणमा ५२ जनाको नतिजा पोजेटिभ देखिएको छ । कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कमा २१८ जनाको एन्टिजेन परीक्षणमा १० जना र कञ्चनपुरकै चित्रनगर हेल्थ डेस्कमा ३७२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४१ जनामा पोजेटिभ देखिएको हो ।