प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर वैकल्पिक सरकारको नेतृत्व लिने निर्णय गरेको नेपाली कांग्रेसका शीर्ष नेताबीच सार्वजनिक कार्यक्रममा झम्टाझम्टी भएको छ । शुक्रबार काठमाडौंमा आयोजित निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच झम्टाझम्टी भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई हटाउने विषयमा सभापति देउवाले अग्रसरता नलिएको भन्दै आपत्ति जनाएपछि दुई नेताबीच भनाभन भएको हो । पौडेलले ओलीसँग मिलेको आरोप लगाएपछि देउवा उनीविरुद्ध आक्रोशित देखिएका हुन् ।
पौडेलले देउवाका अगाडि उभिएर रिसले हात हल्लाउँदै आक्रोश पोखेका हुन् । पौडेल आक्रोशित भएपछि देउवासँग भनाभन भएको हो । पार्टीका शीर्ष नेताले मञ्चमा वादविवाद गर्दा कार्यक्रममा सहभागी हाँसेका थिए । प्रमुख अतिथीका रुपमा कार्यक्रममा पुगेका नेताबीच वादविवाद हुँदा कार्यक्रम उद्घोषकले भने यो नेताबीचको छलफलमात्र भएको भन्दै सहजीकरण गरिरहेका थिए ।