नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भव्य स्वागत गरेका छन् । पाँच दलीय गठबन्धनमा आवद्व दलहरूको प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा सहभागी हुन मोरङको विराटनगरमा आएका देउवालाई शनिबार विराटनगर विमानस्थलमा उनले स्वागत गरेका हुन् ।
महाधिवेशनपछि र आगामी चुुनावका लागि टिकट वितरण गर्ने क्रममा सभापति देउवाले पेलेको भन्दै शेखर पक्ष असन्तुुष्ट थियो । शनिबार देउवा मोरङको विराटनगर गए ।
निर्वाचन परिचालन कमिटी प्रदेश-१ ले आयोजना गरेको लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्न उनी शनिबार विहान विराटनगर गएका हुन् ।
आगामी ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै भेला आयोजना गरिएको हो । भेलामा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी छन् ।
निर्वाचनपछि गठबन्धन दलको सरकार
प्रधानमन्त्री देउवाले निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दाबी गरे । शनिबार विराटनगरमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै देउवाले समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएकाले निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दाबी गरेका हुन् ।
देउवाले रूखा, कलम र गोलाकार भित्रको हँसिया हथौँडा चिह्नमा भोट हाल्न आफू तयार रहेको भन्दै कार्यकर्तामा अन्योलता आउन नहुने बताए ।

