सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनबाट चुनावपछि कसले सरकारको नेतृत्व गर्ने भन्नेबारे निधो हुुन बाँकी रहेको बताएका छन् । आइतवार साँझ सम्पादहरुसँगको छलफलका क्रममा देउवाले यस्तो बताएका हुन्।
‘सत्ता गठबन्धनभित्र अहिले नै को नयाँ प्रधानमन्त्री बन्ने कुरा भएको छैन’, उनले भने, ‘तर, सत्ता गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याउँछ। त्यसपछि पनि अहिलेकै गठबन्धनको सरकार बन्छ। प्रधानमन्त्रीबारे हामीले छलफल गरिसकेका छैनौँ।’
उनले आफू नै फेरि प्रधानमन्त्री हुनेबारे कुनै कुरा नभएको पनि बताएका छन्। ‘मलाई फेरि प्रधानमन्त्री बनाउने सहमति भएको छैन। गठबन्धनमा हामीसँग माधव नेपाल पनि छन्।
माधव नेपाल नै मलाई यो पटक प्रधानमन्त्री बन्न भनेका हुन्’, उनले भने, ‘माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डजीले पनि प्रधानमन्त्री मागेका छैनन्। चुनावपछि नयाँ प्रधानमन्त्री को हुन्छ ? त्यतिखेरै हेरौँला।’
सरकार गठबन्धनको भएकाले पनि अहिले नै मंसिर ४ पछिको नयाँ प्रधानमन्त्रीबारे कुनै कुरा नभएको जानकारी देउवाले दिएका हुन्।