पूर्व राजपरिवार सदस्य हिमानी शाहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भेटेकी छिन् । कतार राजदूतावासले काठमाडौंको सोल्टी होटलमा दुुवैबीच भेट भएको बताइएको छ ।
दुुवैबीच फिफा विश्वकप २०२२ को सन्दर्भमा आयोजना गरेको भोजमा सरिक हुन पुगेका मेयर शाह र हिमानीबीच भेट भएको हो । भेटमा हिमानी शाहले बालेनलाई काठमाडौंको मेयरमा निर्वाचित भएकामा बधाई दिएकी बालेनको सचिवालयले जानकारी दिएको छ ।
युवाहरूले राजनीतिमा हस्त’क्षेप गरेको दृष्टान्त पेश गरेकामा उनले धन्यवाद समेत दिएकी थिइन् । बालेन टिमका एक सदस्यका अनुसार हिमानी शाहले अहिले पूर्व राजपरिवार भित्र बालेनले गरेको कामको चर्चा हुने गरेको बताएकी थिइन । कतार दूतावासले गरेको कार्यक्रममा पूर्व राज परिवारलाई बोलाइनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
‘उहाँ (हिमानी शाह) ले पहिले नै भेट्न खोज्नुभएको रहेछ । आज सन्दर्भ परेर भेट भयो । ३–४ मिनेट कुराकानी भएको थियो’, ती सदस्यले भने । भेटमा मेयर बालेनभन्दा हिमानीले नै बढी कुरा राखेको सचिवालयको भनाइ छ । ‘
काठमाडौं महानगरमा भइरहेको कामको विषयमा धेरै कुरा भयो, राजनीतिको विषयमा खासै कुरा भएन तर उहाँले राजपरिवारमा स्वतन्त्र राजनीतिक शक्तिको चर्चा हुँदा बालेनको विषय सधैं आउने बताउनुभएको थियो’ बालेनको सचिवालयका ती सदस्यले भने ।
हिमानीले बालेनको परिवारबारे पनि चासो राखेकी थिइन् । उनीहरुबीचमा अंग्रेजीमा कुराकानी भएको थियो ।

