काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल सम्वतलाई सरकारी कागजातहरुमा प्रयोग गर्नुुपर्ने बताएकी छिन् । यसको छुट्टै मौलिक महत्व र पहिचान रहेको भन्दै उनले यस्तो बताएकी हुुन्।
बुधबार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ का अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्दै डंगोलले नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताएकी हुन्।
उपप्रमुख डंगोलले संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत भनेको नेपाल सम्वत रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताइन्।
उनले सरकार र राजनीतिक दलहरूले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताइन्। सरकारी कार्यालयहरूमा चलाउने डकुमेण्टहरूमा नेपाल सम्वत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने डंगोलको भनाइ थियो।
उनले भनिन्, ‘राष्ट्रिय विभूतिका रूपमा मान्यता दिइसकेपछि हामीले लिखित रूपमा मात्रै होइन कार्यान्वयन गर्न व्यवहारमा लागू गर्न महत्वपूर्ण छ। हामीले चलाउने डकुमेण्टहरूमा जबसम्म नेपाल सम्वत प्रयोग गर्न सक्दैनौँ, तबसम्म यसलाई राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नहुन सक्छ।’
नेपाल संवत मनाइरहँदा राष्ट्रिय विभूतिबाट सिक्नुपर्ने धेरै पाठ छ। जनतालाई ऋण मोचन गरे झैँ आफूभन्दा माथि जनता भनेर सोच्न जरुरी रहेको उनले बताइन्।

