पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माबीच जम्काभेट भएको छ । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार ओली र शर्माबीच आकस्मिक भेट भएको हो ।
भेटमा शर्माले फेरि प्रतिनिधिसभा भंग नगर्ने प्रतिबद्धता नगर्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् । ओली राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई मत माग्न झापा जाँदै थिए भने शर्मा काठमाण्डौ आउने क्रममा थिए ।
विमानस्थलको भीआईपी कक्षमा दुई नेताबीच जम्काभेट भएको थियो । शर्माले काँग्रेस घोषणापत्रमा पाँच वर्षे कार्यकाल नसकिँदै बीचैमा संसद भंग नगर्ने प्रतिबद्धता उल्लेख भएको जनाए ।
ओलीलाई पनि एमाले घोषणा पत्रमा त्यस्तै प्रतिबद्धता राख्न आग्रह गरे । तर, ओलीले शर्माको प्रस्तावबारे कुनै टिप्पणी गरेनन् । बरु उनी रिसाए । ओलीले घोषणा पत्रलाई अन्तिम रुप दिएर छाप्नका लागि प्रेसमा पठाइ सकिएको बताए ।

