सिंगटी हाइड्रो इनर्जीले संचालनमा आएको पहिलो वर्षबाट नै लाभांश दिने जनाएको छ । कम्पनीको आईपिओ बाँडफाँड कार्यक्रममा कम्पनीका अध्यक्ष बटु लामिछानेले संचालनमा आएको पहिलो वर्ष देखि नै लाभांश दिने बताएका हुन् ।
उनले आयोजना संचालनमा आएको पहिलो वर्ष ५ देखि १० प्रतिशत, र दोस्रो वर्ष १० देखि १५ प्रतिशत लाभांश वितरण गर्ने क्षमतामा हुने बताएका हुन् । उनका अनुसार आयोजनाको निर्माण गत वर्ष नै सम्पन्न भईसकेको हो । प्रसारण लाइन तयार नहुँदा १ वर्ष ढिला भएको उनको भनाई छ ।
प्रसारण लाइनको काम अन्तिम चरणमा रहेकोले छिटोमा वैशाख १५ भित्रमा र ढिलोमा बैशाख मसान्तसम्ममा आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने उनले बताए । प्रसारणको लाइनको टावर रहने विभिन्न स्थानमा अवरोध भएको कारण ढिलाई भएको उनको भनाई छ ।
प्राधिकरणले आयोजनाको ड्राई टेस्ट गरिसकेकोले प्रसारण लाइन तयार हुना साथ राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिने उनले बताए । कम्पनीले दोलखामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरेको हो ।