काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई स्पष्टिकरण सोधिएको छ । उनलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको हो ।
ईन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टिकरण मागेको हो ।
आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टिकरण दिन मेयर साहलाई निर्देशन दिएको छ । यस्तै, आयोगले एमाले दाङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण सोधेको छ । वलीलाई भने विद्यार्थीसँग भोट मागेको विषयलाई लिएर स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्ता गुरुराज वाग्लेले बताए ।
उनका अनुसार उम्मेदवार वलीले शुक्रवार दाङको बबई गाउँपालिका १ स्थित सरस्वती जनता माध्यमिक विद्यालयको प्राङ्गणमा विद्यार्थीसँग भोट मागेकी थिइन् ।

