सामाजिक अभियान्तासमेत रहेका राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले संसद् छिर्ने रणनीति अपनाएका छन् । जुम्लाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार शाही अहिले चुुनावी अभियानमा होमिएका छन् ।
पाँच दलीय गठबन्धन र एमालेका उम्मेदवारलाई हराएर सांसद बने के गर्ने भन्ने मतदाताको प्रश्नमा उनले, ‘ ‘ ‘सांसद भए शक्तिशाली मन्त्री हुन्छ अनि जिल्लाको विकास गर्छुु’, भन्दै ढाँट्ने गरेका छन्।
निर्वाचनको परिणामले राप्रपालाई सत्ताधारी बनाए अलग नत्र राप्रपा आफैँ सरकार बनाउन सक्ने हैसियतसहित प्रतिनिधि सभामा पुग्ने सम्भावना छैन। राप्रपाको आन्तरिक आङ्कलनै समानुपातिकमा ६ देखि ८ अनि प्रत्यक्षमा २ देखि ४ सिट आउने छ। अधिकतम आँकडा मिल्दा पनि राप्रपा १२ सिट सहित प्रतिनिधि सभामा पुग्ने देखिन्छ।
सो जिल्लाको प्रतिनिधि सभामा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रकी गोमा गौतम कुँवर उम्मेदवार छिन्। एमालेले रतननाथ योगीलाई उठाएको छ। प्रदेश सभाको २ सिट कांग्रेस र एकीकृत समाजवादीले बाँडेका छन्।
वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम हेर्ने हो भने जुम्लामा राप्रपा निकै कमजोर छ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेस ठुलो दल देखिन्छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले १६ हजार ७५ मत पाएका थिए। गठबन्धनमा रहेका माओवादी केन्द्रले १४ हजार १ सय ७५ र एकीकृत समाजवादीका उम्मेदवारले ६ हजार १ सय ९५ मत पाएका थिए। एमालेका उम्मेदवारले ६ हजार ९६२ मत पाएको थियो ।
राप्रपाका उम्मेदवारहरूले जम्मा ५ सय १४ मत मात्र पाएका थिए। स्थानीय तहको मत परिणाम कायमै रहे प्रमुख दल एमाले नै पाँच दलीय गठबन्धन भन्दा ३० हजार मतले पछाडि पर्ने देखिन्छ। तर स्थानीय तहको निर्वाचनमा पार्टीको हजार मत पनि नदेखिएको पार्टीका उम्मेदवार शाही चुनाव आफैँले जित्ने दाबी गर्दै हिँडिरहेका छन्।

