प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार धनगढी फर्किए । काँग्रेसका सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट चुनावी सभा सकेर धनगढी पुगेका हुुन् ।
देउवा आज कार्यकर्ता भेटघाटमा व्यस्त रहेको बताइएको छ। देउवाले धनगढीस्थित आफ्नै निजी निवासमा कैलाली र धनगढीका नेता तथा कार्यकर्तालाई बोलाएर चुनाव केन्द्रित भेटघाट तथा छलफल गरिरहेको काँग्रेस कैलालीले जनाएको छ।
देउवाले उम्मेदवार चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई पनि बोलाएर छलफल गरिरहेको कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए। कैलालीका नेता, कार्यकर्तासँग देउवाले यहाँको चुनावी अवस्था र सम्भावित परिणामबारे जानकारी लिइरहेको उनले बताए।
प्रधानमन्त्री देउवा अबको दुई दिन धनगढीमै बस्ने काँग्रेस कैलालीले जनाएको छ। देउवाले धनगढीमा २ दिन यहाँका नेता तथा कार्यकर्तासँग छलफल गर्ने बताइएको हो। यहाँ कार्यकर्तासँग छलफल बाहेक अरु औपचारिक कार्यक्रम भने तय नभएको बताइएको छ। त्यसपछि देउवा गृहप्रदेशकै अरु जिल्लामा आयोजित सभाहरुमा सामेल हुने कार्यक्रम छ ।

