समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरुले ऋण भुक्तान नगरे कानून बमोजिम कालो सूचीमा राखिने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगर काठमाडौंले यस्तो सूचना आज जारी गरेको हो ।
नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट विभिन्न मितिमा समस्याग्रस्त घोषित गरिएका सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि ताकेता गर्दा पनि वास्ता नगरेपछि समितिले सूूचना नै जारी गरेको छ ।
सम्बन्धित सञ्चालक व्यवस्थापक कर्मचारीहरुलाई निजहरुले तिर्नु बुझाउनु पर्ने र दायित्वको सावाँ ब्याज बुझाउनका लागि पटकपटक सम्पर्क पत्राचार र राष्ट्रियस्तरको पत्रपत्रिकामा समेत सूचना प्रकाशित गर्दा समेत हालसम्म पनि संस्थालाई तिर्नु बुझाउनु पर्ने ऋण दायित्व बांकी भएको भन्दै आज १५ दिनको सूचना प्रकाशित बताइएको छ ।
‘यस समयावधि भित्र आफूले तिर्नुपर्ने ऋणको साँवा ब्याज यस समितिको कार्यालय अनामनगर काठमाडौंमा बुझाउनु होला अन्यथा कानुनबमोजिम कारबाहीका साथै सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम निजको राहदानी रोक्का राख्ने र नाम कालो सूूचीमा समावेश गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ’, सूचनामा भनिएको छ ।
यी हुुन् संस्थाहरुः
क. स्ट्याण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड,
ख. प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेण्ट को-अपरेटिभ लिमिटेड,
ग. प्रभु बचत तथा क्रण सहकारी संस्था लिमिटेड,
घ. कोहिनुर हिल सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड,
ङ. कन्जुमर बचत तथा क्रण सहकारी संस्था लिमिटेड,
च. कुबेर बचत तथा क्रण सहकारी संस्था लिमिटेड,
छ. चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड,
ज. भेगास बचत तथा क्रण सहकारी संस्था लिमिटेड,
झ. स्ट्याण्डर्ड मल्टिपर्पाज को-अपरेटिभ लिमिटेड,
ञ. सोसाइटल बचत तथा क्रण सहकारी संस्था लिमिटेड,
ट. लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ।


