आगामी निर्वाचनपछि नेपालको कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार गगन थापा प्रधानमन्त्री बन्ने दाबी गरिएको छ। नेपाली कांग्रेसनिकट अर्थविद् स्वर्णिम वाग्लेले काठमाडौं–४ मा भएको एक कार्यक्रमका क्रममा शनिबार यस्तो बताएका हुन् ।
उनले युवाले नेतृत्व लिनुपर्ने र ज्येष्ठ नेतालाई धन्यवादसहित विदा गर्नुपर्ने बताए। ‘गगन थापा प्रधानमन्त्री बन्न योग्य हुनुहुन्छ। उहाँसँग विज्ञको टिम छ। अहिलेसम्म योगदान गरेका नेतालाई धन्यवाद दिएर प्रधानमन्त्रीमा गगन थापालाई मौका दिनुपर्छ’, वाग्ले भन्छन्,‘उहाँ प्रधानमन्त्री बने सामाजिक सुरक्षाको प्रत्याभूति मूर्त हुन्छ।’
थापा प्रधानमन्त्री बनेको खण्डमा ५ बर्षमा नै देशले गति लिने वाग्लेको दाबी छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाले आम चुनावपछि संयुक्त सरकार बनाउने घोषणा गरेका छन् । यद्धपि को प्रधानमन्त्री बन्छ भन्नेमा उनीहरू बीचमै एक मत छैन ।
चुनावी घोषणापत्रमार्फत कांग्रेस र माओवादी केन्द्र दुबैले सरकारको नेतृत्व गर्ने दाबी प्रस्तुत गरिसकेका छन् । एकीकृत समाजवादी चुनावी घोषणापत्रमा यसबारे मौन छ ।
तर, अवसर पाए सरकारको नेतृत्व गर्ने दाउमा अध्यक्ष माधवकुमार नेपाल छन् । प्रचण्डले सरकारको नेतृत्वको चाहना व्यक्त गरेका छन् भने कांग्रेसका तर्फबाट शेरबहादुर देउवा, शशांक कोइराला र गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् ।

