नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २५ वर्षपछि ‘महापुरूष’ फिल्म हेरेका छन् । उनले आफ्नी श्रीमतीसँगै काठमाडौंको चावहिलमा रहेको एफएक्युब सिनेमाजमा पुगेर फिल्म हेरेका हुन् ।
मह जोडीको अभिनय रहेको र फिल्मलाई हेर्नेले राम्रो भनेकाले दर्शक बनेर बिदाको समय सदुपयोग गरेको उनले बताए । शनिबार साँझ ५ बजेर १५ मिनेटको शोमा फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले आफूलाई मन पर्ने सामाजिक विषयवस्तुमै फिल्म रहेको जानकारी दिए । ‘
हलमा फिल्म हेरिरहँदा उठान गरेको विषयले छोयो । सरल प्रस्तुति तर गम्भीर विषय । राम्रो कथा र नेपाली समाजसँग जोडिएको विषय’, निर्देशक घिसिङले भने, ‘हलमा खर्चेको समय र पैसाको सदुपयोग भयो । मन भित्रको अन्धकारलाई हटाउदै खुसी हुनुपर्छ भन्ने सन्देश दिएको छ । फिल्म राम्रो बनेको छ ।’
उनले फिल्मले उठान गरेको कथावस्तु, कलाकारको अभिनयको प्रशंसा गरे । महापुरूषरुपी मानवको मनभित्र गुम्सिकेको वास्तविकतालाई देख्न पाएको र मनोरञ्जनसँगै शिक्षा दिने पक्ष सशक्त रहेको प्रतिक्रिया दिए ।
‘

