भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसले नेपालको राष्ट्रगान बजाएको छ । नेता राहुल गान्धी सहभागी एक कार्यक्रममा भारतको राष्ट्रगानको साटो झुक्किएर नेपालको राष्ट्रगान बजेको हो ।
भारतीय कांग्रेस पार्टीले ‘भारत जोडो यात्रा’ सञ्चालन गरिरहेको छ। त्यही अभियानअन्तर्गत गत साता भारतको महाराष्ट्रमा आयोजित कार्यक्रममा भारतको राष्ट्रिय गानको सट्टा नेपाली राष्ट्रगान बजेको हो।
सुरुको धुन र पहिलो लाइन बजिसकेपछि अलमल्ल परेका गान्धीले उनका सहयोगीलाई ईशारा गर्छन्। त्यसपछि बल्ल ‘जन, गण, मन‘’ बज्दछ।
उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि भारतीय जनता पार्टीका नेताहरूले गान्धीको आलोचना गरेका विवरणहरू भारतीय सञ्चार माध्यममा आएका छन्।
सामाजिक सञ्जालका वेबसाइटमा टिप्पणी गर्नेहरूले भारतको विपक्षी दलले महाराष्ट्र राज्यमा गरेको स्थानीय कार्यक्रममा कसरी छिमेकी देशको राष्ट्र गान बजाइनका निम्ति ठीक्क परेर राखिन पुग्यो भनेर प्रश्न पनि उठाएका छन्।
त्यसपछि नेता राहुलले हतार हतार भारतको राष्ट्रगान बजाउन आग्रह गरे र गल्ती सच्याइयो। त्यसको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै भारतीय कांग्रेसको आलोचना गरिएको छ।