पूूर्व सञ्चारकर्मी तथा अमेरिकामा लामो समय व्यतित गरी फेरि नेपाल फर्केका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली नागरिकताबारे मुुुख खोलेका छन् । उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनर्प्राप्तिको प्रक्रियामा नगएको कुरा स्वीकारेका छन् ।
लामिछानेका अनुसार, २०५० सालमा लिएको नागरिकता नै उम्मेदवारी दर्ताका क्रममा पेस गरेको र अमेरिकी नागरिकता फिर्ता गरेपछि नेपालको नागरिकता पुनः प्राप्त गर्ने कानुनी प्रक्रियामा उनी गएनन् । अमेरिकाको नागरिकता फिर्ता गरेपछि र अध्यागमनसँगको समस्या समाधान भएपछि अरू प्रक्रियामा गइएनँ’, लामिछानेले भनेका छन्, ‘त्यसपछि कतै पनि प्रश्न उठेन ।’
आफूसँग नेपालीसँगै अमेरिकी नागरिकता भएका बेला नेपालमा कानुनी प्रश्न नउठेको उनले बताए । हालै निर्वाचन आयोगमा परेको उजुरीको सन्दर्भसमेत नमिलेको उनको जिकिर छ ।
‘त्यतिखेर दुईवटा नागरिकताको विषय आइदिएको भए एउटा नागरिकता रोज्नुपर्ने हुन्थ्यो वा कानुनविपरीत हुन्थ्यो । दुई नागरिकता भएको समय गुज्रियो, त्यो सन्दर्भ नै मिल्दैन,’ रविले भनेका छन् ।
पर्यटक भिसामा नेपाल छिरेर काम गरिरहेको विषयमा आलोचना भएपछि ४ वर्षअघि उनले अमेरिकी पासपोर्ट काठमाडौंस्थित अमेरिकी दूतावासमा ‘सरेन्डर’ गरेका थिए । साथै दूतावासमा बुझाएको २ हजार ३ सय ५० अमेरिकी डलर दस्तुर रकमको रसिद र पासपोर्ट सरेन्डर गरेको पत्र पनि सार्वजनिक गरेका थिए ।

