मौन अवधिको उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले शंकास्पद गतिविधी गरेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–८ रातो गुराँस रिसोर्टमा बसेका प्रधानमन्त्री देउवामाथि मतदातालाई पैसा बाँडिरहेको खुुलेको हो ।
बिहीबार राति १२ बजे मौन अवधि शुरु भएसँगै निर्वाचनको प्रचारप्रसारमा रोक लगाइए पनि देउवाले भने निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै आफू बस्ने रिसोर्टबाहिर मतदाताको भीड लगाएका हुन्।
देउवाले निर्वाचन जित्न विगतमा पनि पैसा बाँड्दै आएको आ’रोप लाग्ने गरेको छ। रातो गुराँस रिसोर्टमा पैसा बाँडिरहेका खबर सुनेर जिल्लास्थित पत्रकारको टिम त्यहाँ पुग्दा मानिसहरूको भीड थियो। कतिपय पत्रकारको टिम देख्दा भागेका थिए भने कतिपय आफ्नो फोटो नखिचिदिन हारगुहार गरिरहेका थिए।
सुरक्षा घेरभित्र पालैपालो मानिसलाई भित्र पठाइरहेको बेला पत्रकारलाई फोटो नखिच्न भन्दै सुरक्षाकर्मी तथा देउवाका सहयोगीले ध’म्की दिए। तर पनि पत्रकारले फोटो भिडियो खिच्न थालेपछि बाहिर रहेका सबैलाई गेटभित्र जान दिइएको थियो।
बाहिर रहेका स्थानीयसँगै पत्रकार पनि भित्र जान खोजेपछि उनीहरूलाई रोकिएको थियो। कतिपय भित्र गएर देउवालाई भेट्न नपाएको गुनासो गरिरहेका थिए भने कतिपय पैसा दिएको भन्दै खुशी भएर फर्किरहेका थिए।
प्रहरी प्रशासनलाई पत्रकारले ‘सुरक्षा थ्रेट’ भएको खबर गरेपछि रिसोर्ट पुगेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी गाडीबाट बाहिर निस्किएनन् भने प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले अन्य प्रहरीलाई भीड हटाउन निर्देशन दिएका थिए।

