सञ्चारकर्मबाट विश्राम लिएर राजनीमिा ओर्लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन्। लामिछानेले आज बिहान काठमाडौं उपत्यका खानेपानी महांकालचौरमा पुगेर मतदान गरेका हुन्।
लामिछाने चितवन २ को प्रतिनिधिसभाका उम्मेदवार समेत हुन्। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट देशभर मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ ।
देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । ती मतदान केन्द्रबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउनेछन् ।
त्यसबाहेक समानुपातिकतर्फका लागि अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ । ४ लाख ५० हजार अस्थायी मतदाता छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ४ सय १२ र प्रदेशसभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
चुनावबाट प्रतिनिधिसभाका २७५ सदस्य र प्रदेश सभाका ५५० सदस्य चयन हुनेछन् । प्रतिनिधिसभाका लागि १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट चयन हुनेछन् भने सात वटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० जना र समानुपातिकतर्फ २२० जना निर्वाचित हुनेछन् ।

