चितवन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् । उनले आज बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका छन् ।
मतदानमा उनले प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप नलगाएरै मत खसालेका हुुन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाउँदैनन् ।
लामिछानेले मतदान गरेपछि मत खसालेको ढ्वाङ्गलाई ढोगेका छन् । उनले आफूले मत खसाल्दै गरेको र मत खसालेको ढ्वाङ्गलाई ढोगेको तस्वीर सार्वजनिक गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने टेलिभिजन प्रस्तोताको जागिर छाडेर राजनीतिक दल खोलेर पहिलोपटक निर्वाचनमा उठेका हुन् ।

