खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले शिक्षक सेवा आयोग उत्तीर्ण गरेर पोस्टिङ भएका स्थायी शिक्षकलाई सहभागी गराएर क्षमता विकास तालिम आयोजना गरेको छ । आयोग उत्तीर्ण गरेर स्थायी नियुक्ति लिएर आएका नवप्रवेशी शिक्षकलाई सहभागी गराएर गाउँपालिकाले ३ दिने क्षमता विकास तालिम आयोजना गरेको हो ।
शनिबार सुरु गरिएको तालिममा मावि र आधारभूत विद्यालयमा पोस्टिङ भएका १६ जना शिक्षकलाई सहभागी गराइएको गाउँपालिकाका शिक्षा अधिकृत विनेशकुमार श्रेष्ठले बताए । तालिममा सहभागी शिक्षकलाई विद्यालय प्रशासन, विद्यालयको योजना, एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली, गाउँपालिको शिक्षा ऐन, भर्चुअल सिकाइ, एकीकृत पाठ्यक्रमबारे जानकारी दिइने गाउँपालिकाले जनाएको छ ।
नवप्रवेशी शिक्षकलाई स्वागत गर्ने, आपसमा परिचय गराउँदै गाउँपालिकाको शिक्षा ऐनबारे जानकारी दिँदै शैक्षिक गुणस्तर अभिवृद्धिमा अग्रसर गराउन क्षमता विकास तालिम आयोजना गरिएको हो । गाउँपालिकाकै सभाहलमा आयोजना गरिएको तालिममा गत वर्ष नियुक्ति पाएका शिक्षक सहभागी छन् ।
कोभिड–१९ का कारण रोकिएको नवप्रवेशी शिक्षकको क्षमता विकास तालिम यस वर्ष चलाइएको गाउँपालिकाले बताएको छ । केही समयअघि पनि गाउँपालिकाले शिक्षण सेवामा स्थायी नियुक्ति लिएर आएका १८ शिक्षकलाई क्षमता विकास तालिम दिएको थियो ।
गुणस्तर एवं प्रविधिमैत्री शिक्षण सिकाइ, शैक्षिक आचारसंहिताको पालनालगायत उद्देश्य राखेर तालिम आयोजना गरिएको हो ।
गाउँपालिकाभित्रका सबै स्थायी शिक्षकलाई नै क्षमता विकास तालिम दिने तयारी गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । ‘सेवा प्रवेश, शिक्षण सिकाइ विधि, पाठ्यक्रमसम्बन्धी जानकारी दिन तालिम आयोजना गरिएको हो,’ अध्यक्ष निरौलाले भने, ‘क्रमशः सबै स्थायी शिक्षकलाई सहभागी गराएर तालिम सञ्चालन गर्ने योजना छ ।’