आइतबार देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि निर्वाचन भयो । निर्वाचनमा विगतको तुुलनामा नयाँ उम्मेद्वारहरुको होडबाजी चलेको देखियो ।
खासगरी गत बैशाखमा सम्पन्न स्थानीय तहको चुुनावबाट उदाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वतन्त्रले पनि जित्ने सन्देश दिए ।
तिनै बालेन आइतबार सिनामंगलको अन्नपूर्ण स्कुलमा रहेको मतदान केन्द्रमा पुगे मत हाल्न। आफ्नो उही पुरानै ट्रेडमार्कको पोसाकमा रहेका उनी सरासर बुथमा पुगे।
पहिला प्रतिनिधि सभातर्फको प्रत्यक्ष र समानुपातिकमा भोट दिए। त्यसपछि पालो प्रदेशतर्फको प्रत्यक्ष र समानुपातिकतर्फको मत दिने थियो तर उनले मत दिएनन्। सरासर मतदान केन्द्रबाट बाहिर हिँडे।
मतदान केन्द्रमा रहेका प्रहरीले उनलाई बोलाएर मत हाल्न आग्रह गरेका थिए तर उनी सुनेको नसुन्यै गरेर मतदान केन्द्रबाट बाहिरिए। यस अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रदेशमा मत दिएनन्।
उनले मतपत्र भने लिएका थिए। उनले मतपत्र लिए पनि स्वस्तिक छाप नलगाई मतपत्र खसालेका थिए। तर बालेन्द्रले त मतपत्र पनि लिएनन्।
लामिछानेले प्रदेश तहमा मत नहाल्नुको कारण प्रदेश संरचनाप्रति दलको असहमति रहेको र त्यसैका आधारमा प्रदेशमा उम्मेदवारी नै नदिएको बताएका थिए। तर बालेन्द्र शाहले अहिलेसम्म प्रदेश संरचनाबारे आफ्ना कुनै धारणा सार्वजनिक गरेका छैनन्।

