काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधिसभा सदस्यमा जित्ने पक्का भएको छ । आइतबार भएको निर्वाचनको मतगणना जारी छ ।
अब उनको निर्वाचन क्षेत्रको अन्तिम वडा अर्थात् काठमाडौं महानगरपालिका–३० को मत गन्न बाँकी छ । पछिल्लो परिणामानुसार थापा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार राजन भट्टराईभन्दा पाँच हजार ९५२ मतान्तरले अगाडि छन् ।
अब काठमाडौं–३० को चार हजार ८८१ मत मात्र गन्न बाँकी छ । अर्थात्, गन्न बाँकी पूरै मत भट्टराईलाई गए पनि थापा विजयी हुने देखिन्छ । यो थापा बसोबास गर्ने क्षेत्र र मतदान गर्ने वडा हो ।
हालसम्म थापाले १८ हजार ९७५ मत पाएका छन् । भट्टराईले भने १३ हजार २३ मत ल्याएका छन् । काठमाडौं क्षेत्र नम्बर–४ मा ४५ हजार ७२० मत खसेको छ । हालसम्म ४० हजार ८३९ मत गरिएको छ ।
यसअघि कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ १ बाट जित हात पारेका छन् ।

