काठमाडौं-१ मा कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् । राप्रपाका वरिष्ठ उपाध्यक्षलाई १२९ मतले पछि पारेर प्रकाशमानले चौथो जित निश्चित गरेका हुन् ।
चुनावी प्रतिस्पर्धामा अन्य दुई उम्मेदवारलाई पनि उल्लेख्य मत आएको छ । उनीहरू हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र सुशासन पार्टीका रमेश खरेल । उनीहरू दुवैले ७ हजारभन्दा बढी मत ल्याएका छन् ।
मतपरिणामपछि धेरैको टिप्पणी छ- परिवर्तनको नारा दिनेहरू आपसमा मिल्न नसक्दा परम्परागत शक्तिले फाइदा उठाए । हामीले सुशासन पार्टीका खरेललाई सोध्यौं, ‘यस्तो हुनसक्छ भन्ने जान्दा जान्दै किन आपसमा मिल्न सक्नुभएन ?’
खरेलले यसमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दोष देखाए । आफूले ३ महिना अगाडि नै सो पार्टीसँग सहकार्यका लागि प्रयास र समझदारी गरेको उनको भनाइ छ ।
खरेलले भने, ‘मैले तीन महिना अगाडि एकै ठाउँमा उभिने भनेर प्रयास गरेको हुँ । उहाँहरूसँगको जेन्टलमेन्ट एग्रिमेन्ट ब्रेक भएको छ ।’
खरेलको भनाइअनुसार दुवै पार्टीले काठमाडौंमा एउटै प्लेटफर्मबाट एकैपटक ४५ जना उम्मेदवार घोषणा गर्ने भद्र सहमति रवि लामिछानेसँग भएको थियो । दुवैले एक-अर्को पार्टीसँग नजुधाउने गरी आआफ्ना उम्मेदवार उठाउने मौखिक समझदारी तोडिएको उनले गुनासो गरे ।
‘घण्टीको ठाएँमा मैले सपोर्ट गर्ने र हामी उठेको ठाउँमा घण्टीको उम्मेदवार नउठाउने जेन्टलमेन्ट अग्रिमेन्ट भएको थियो । रविजी र विराजभक्त श्रेष्ठसँग मैले कुरा गरेको हुँ । तर, त्यो सहमति ब्रेक भयो । राजनीतिक इमान्दारिताको पालना भएन,’ खरेलले भने ।
आफ्नो तर्फबाट पनि केही कमजोरी रहेको तर, जेन्टलमेन्ट एग्रिमेन्ट नतोडिएको भए परिस्थिति अर्को बन्न सक्ने खरेलको भनाइ छ ।
राप्रपाका मिश्रसँग भने कुनै छलफल नभएको उनले बताए । परम्परागत पार्टीमा प्रवेश गरेकाले मिश्रसँग सहमति प्रयास नगरेको उनको भनाइ छ । ‘हामी परिवर्तन पक्षधरहरू हौं । उहाँ विवेकशील छाडेर राप्रपामा गइसकेपछि मिल्न सक्ने आधार नै भएन,’ खरेलले भने ।

